www.tandavnews.com
Fact ~ In search of truth

यस वर्ष फूल उत्पादनमा कमी, भारतबाट आयात गर्ने

काठमाडौँ

कोभिड–१९ को कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ । कारोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पदनमा पनि देखिएको छ, फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

‘यस वर्ष बजार माग बढेको छ’, तामाङले भने, ‘माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याइन्छ ।’ यस वर्ष विगत २ वर्षको तुलनामा १५ प्रतिशत फूलको माग रहेको बताइएको छ । कारोनाका कारण दैनिकरुपमा रु १ करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ५० लाखको कारोबार गर्न थालेको छ ।

Batas

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना संक्रमणदर पनि विस्तारै हट्दै गइरहेकाले यस व्यवसायले गति समाएको हो । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तंग्रिन थालेको छ ।

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै उक्त व्यवसायले पनि लय समातेको हो । अझै पनि मठमन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय पूर्णरूपमा सञ्चालनमा नआएका यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी रहेको छ ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु ३ अर्ब फूलको कारोबार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल व्यावसायिकरूपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.