www.tandavnews.com
Fact ~ In search of truth

३ महिनापछि खुल्यो अवरुद्ध सडकखण्ड, पर्यटकलाई मनाङबासीको निम्तो

अर्जुन गाहा (सुशान्त )

मनाङ, ताण्डव न्यूज

वर्षायामका कारण विगत ३ महिनादेखि अवरुद्ध मनाङको सडकखण्ड सुचारु भएको छ । चामे गाउँपालिका र मनाङ ङिँसाङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत पश्चात् आईतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

Batas
मनाङ सडकखण्ड खुला भएको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रममा सहभागीहरु

मनाङ सडकखण्ड खुला भएको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रममार्फत मनाङबासीले पर्यटकलाई निम्तो दिएका छन् । ‘असारमा परेको अविरल वर्षाका कारण भ्राताङ भिरमा बाटो बन्द भएको थियो, ङिँसाङ गाउँपालिकाका प्रमुख कान्छा घलेले ताण्डव न्यूजसँग भने, ‘हाम्रो पालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा बाटो खुलाएका छौ ।’ अब पर्यटकलाई स्वागत गर्न हामी तयार छौं ।’

माननीय प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङ

उनले उक्त सडकखण्ड विगत ३ महिनादेखि बन्द रहेको बताउँदै प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको नेतृत्वमा ४५ दिनमै बाटो खुलाइएको बताए । ‘अवरुद्ध बाटो खुलाउन माननीयको योगदान निकै ठूलो छ, उनले भने, ‘छ न त माननीयहरु अरु पनि हुनुहुन्छ । गर्नुपर्ने त सबैले हो तर अहिले अरुको उपस्थिति देखिएन । आगामी दिनमा गर्नुहोला भन्ने अपेक्षा छ ।’

प्रमुख घलेले उक्त सडकखण्ड अवरुद्ध हँुदा दैनिक उपभोग्य सामाग्रीको ढुवानीमा कठिनाई भएको बताए । ‘खाद्यान्न र औषधीजन्य सामाग्रीको आपूर्तिमा समस्या थियो । हेली चार्टर गर्ने सबैको अवस्था छैन, उनले भने, ‘माननीयको अगुवाईमा जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिस तथा स्थानीयको पहलमा बाटो खुलाइएको होे । अहिले स्थानीयबासीमा खुसीयाली छाएको छ ।’

पहिरो गएको सडकखण्ड

उनले मनाङमा कोरोना भाईरसको महामारी न्यूनीकरण भएको बताउँदै नागरिक तथा पर्यटन व्यवसायीहरु सुरक्षित रहेको बताए । ‘हाम्रो जिल्लामा सबैले खोप लगाएको अवस्था छ । हामी सबै सुरक्षित छौं, घलेले भने, ‘तपाईहरु ढुक्क भएर आउँदा हुन्छ । हामी तपाईहरुकै पर्खाइमा छौं ।’

त्यसैगरी प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले सामाजिक उत्तरदायित्व वहन गर्दै बाटो खुलाउन नेतृत्व गरेको बताए । ‘यो बाटो मनाङको लाइफलाइन हो । बाटो नखुल्दा दैनिक उपभोग्य सामाग्री र बिरामीलाई अस्पताल पुर्याउन अप्ठेरो थियो, उनले भने, ‘केन्द्र र प्रदेश सरकारले कुनै बजेट विनियोजन नगरेकाले मनाङ ङिँसाङ गाउँपालिका र मेरो बुबाआमाको फाण्डेशनले आर्थिक व्यवस्थापन गरेर आज बाटो खोल्न सफल भएका छौं ।’

हाम्रो पालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा खुलाएको अवरुद्ध सडकखण्ड 

सांसद गुरुङले विगतमा सोही स्थानमा बाटो खुलाउन १४ महिना लगाएको टिप्पणी गर्दै भने, ‘७ वर्ष पहिलो यही ठाउँमा बाटो बनाउन १४ महिना समय लागेको थियो । अहिले ४५ दिनमा नै सम्पन्न भएको छ र तुलनात्मक रुपमा लागत पनि निकै कम लागेको छ ।’

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भ्राताङ–पिसाङबीचमा सडकखण्ड खुलेपछि पर्यटकहरुलाई सहज हुने बताए । सिडियो लामिछानेले अवरुद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुल्ने बताए । उनका अनुसार सो सडकखण्ड सुचारु भएपछि मनाङ जिल्लाका सडकखण्ड पूर्णरुपमा खुल्ने छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.