www.tandavnews.com
Fact ~ In search of truth

अनअराइभल भिसाले पर्यटक आगमनमा झिनो सुधार

सिबी अधिकारी

नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो ।

विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको सेप्टेम्बर महिनामा विदेशी पर्यटक आगमन झन्डै दोब्बरले बढेको छ । सेप्टेम्बर महिनामा झन्डै १० हजार पर्यटक आएका छन् भने अघिल्लो अगष्ट महिना ५ हजार हाराहारी पर्यटक आएका थिए । बोर्डको विवरणमा सेप्टेम्बर महिनामा ९ हजार ९ सय ७४ विदेशी पर्यटक नेपाल आएका छन् । उक्त महिना नेपालबाट ६ हजार ९ सय ४२ विदेशी बाहिरिएका छन् । यो संख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महिना ५ हजार ९ सय १९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

Batas

सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रुपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, ‘विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्थाले यसको आकर्षण सकारात्मक छ, पर्यटकको आगमन बढेको देखिन्छ, यसरी हेर्दा आगामी याममा विदेशी पर्यटक बढ्ने देखिन्छ ।’

सन् २०२१ को ९ महिनामा ७६ हजार ९ सय १३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको हो । कोभिड महामारीले विदेशी पर्यटक आगमनमा ह्रास आयो । सन् २०२० को सेप्टेम्बरमा जम्मा ५ सय ४८ पर्यटक नेपाल आएका थिए । कोभिडपूर्व सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६ सय ४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड महामारीको सबैभन्दा धेरै असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको संख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सकारात्मक सुधार आएको बोर्डको बुझाइ छ । महामारीकैबीच झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आएका थिए ।

अघिल्लो महिनाको तुलनामा विदेशी पर्यटकको संख्या दोब्बर बढ्नुले नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ । यही ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्था गर्नाका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वारेन्टिनको व्यवस्था हटाएको थियो ।

बोर्डका निर्देशक लामिछानेले अनअराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको बताए । यो व्यवस्थालाई सरकारका निकायबीच प्रभावकारी समन्वय गरेको खण्डमा आगामी याम पर्यटनका लागि सुखद हुने उनको भनाइ छ । नेपालले यो सन्देशलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा व्यापक रुपमा फैलाएको खण्डमा पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’ का अध्यक्ष अच्युत गुरागाईं पनि विदेशी पर्यटकको आगमन सहज तुल्याउनका लागि सरकारले गरेको पछिल्लो व्यवस्थाले सकारात्मक प्रभाव परेको बताउँछन् । अन्तर सरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर गन्तव्य प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारीकरणमा जुटेको खण्डमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उनको भनाई छ । ‘खोप लगाएर आएका पर्यटकको सहज आगमनका लागि गरिएको व्यवस्था स्वागतयोग्य छ, पर्यटकका लागि हिजो भइरहेको क्वारेन्टिनको व्यवस्थालाई निरन्तरता दिइनुपर्यो यसले नेपालको सकारात्मक सन्देश जान्छ,’ उनले भने ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक आगमन पर्यटकका लागि सरकारले गरेको नयाँ व्यवस्थाले विश्व बजारमा सकारात्मक सन्देश गएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । बोर्डका अनुसार सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.