www.tandavnews.com
Fact ~ In search of truth

दसैँमा कुन एयरलाइन्सका कति उडान ?

सिबी अधिकारी
काठमाडौँ, रासस ।

दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै हुन्छ । किनकि केही महङ्गो भए पनि हवाईजहाज चढेर गन्तव्यतर्फ जानुको मज्जा नै बेग्लै हुन्छ । त्यसै पनि उत्साहजनक व्यापार हुने हवाई क्षेत्रका लागि दसैँ निकै महत्वपूर्ण अवसर हो ।

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र र त्यसमा पनि बढी प्रभावित बनेको हवाई क्षेत्र बिस्तारै लयमा फर्किंदैछ । नजिकै आउँदै गरेका दसैँ, तिहार, छठलगायत पर्व तथा पद यात्रा र पर्वतारोहणको याम भएकाले पनि अहिले आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ ।

Batas

यसै सन्दर्भमा दसैँ तिहारलाई लक्षित गरेर हवाई कम्पनीले विभिन्न अफर, छुटको प्याकेज सार्वजनिक गरिरहेका छन् । दसैँमा त्यसै पनि भरिभराउ हुने हवाई उडान यात्रुको मागका आधारमा उडान सङ्ख्या थपेर भए पनि सेवा सञ्चालनमा तम्तयार छन्, वायुसेवा कम्पनीहरु पनि ।

ठूला एयरलाइन्सको दसैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको छ । दसैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन् । शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि निकै इच्छुक छन् । सडक मार्गको अवस्था राम्रो नभएको र गन्तव्यमा पुग्न निकै झन्झट बेहोर्नु पर्ने बाध्यताले यात्रुले थोरै रकम महङ्गो भए पनि हवाई यात्रा नै रोज्छन् ।

आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुरुप सेवासुविधा विस्तारमा जुटेका हुन् । ठूला एयरलाइन्सले विभिन्न अफरहरु पनि सार्वजनिक गरेका छन् ।

यतीको स्कुटरदेखि हिरा जित्ने मौका

यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले दसैँतिहार योजनाअन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ । उक्त अभियानमा प्रथम विजेतालाई यामाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ देखि कात्तिक २४ गतेसम्म यती एयरलाइन्समार्फत उडान गर्ने सम्पूर्ण यात्रुमा लागू हुनेछ ।

अग्रिम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ । चौतीस दिनसम्म चल्ने यस दसैँतिहार योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमन्डले प्रायोजन गरेकोे हो ।

हर्षोल्लासका साथ मनाइने नेपालीको महान् चाडहरुमा यती एयरलाइन्समार्फत यात्रा गर्नेे सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गरिएको र यात्रुहरुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून् भन्ने उद्देश्य रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

अफर कसरी प्राप्त गर्ने ?

यतीको दसैँ अफरमा सहभागी हुनका लागि एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा सुरक्षा जाँच गरी भित्र छिर्ने क्रममा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा एउटा मात्र कुपन पाइनेछ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फीमै दुईवटा कुपन पाइने बताइएको छ । अर्थात् एकैपटक दुईतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले चारवटा ‘लक्की ड्र’ कुपन पाउनेछन् । “यती एयरलाइन्सको जहाजबाट जति धेरै यात्रा गर्नुहुन्छ, त्यति नै धेरै उपहार जित्ने सम्भावना रहनेछ,” प्रवक्ता बर्तौलाले बताए।

असोज २१ देखि कात्तिक २४ गतेसम्म भरिएका कुपनहरुलाई सङ्कलन गरी गोलाप्रथामार्फत प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत सार्वजनिक गरिने यती एयरलाइन्सले जनाएको छ । हाल यतीले पाँचवटा एटिआर–७२ विमानमार्फत विभिन्न आठवटा गन्तव्यमा उडान भर्दै आएको छ ।

बुद्धको विशेष अफर

आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले पनि आफ्ना ग्राहकका लागि विशेष आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पनि भएकाले दसैँतिहारका लागि अफर नभनी विशेष अफर सार्वजनिक गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीको यही असोज २५ गते पर्ने वार्षिकोत्सवलाई लक्षित गरेर यात्रुका लागि अफर बनाएको छ । मोबाइल एपबाट टिकट खरिद गर्दा ‘लक्की ड्र’ मार्फत निःशुल्क टिकट उपलब्ध गराइरहेको छ । हरेक गन्तव्यबाट काठमाडौँ फर्कंदा रिटर्न टिकट निःशुल्क दिइनेछ । अफर योजनाअन्तर्गत हरेक दिन दुईजनालाई निःशुल्क टिकट दिइनेछ । यो योजना अगष्ट १ देखि ११ तारिखसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।

बुद्ध एयरले अहिले दैनिक १४० भन्दा बढी उडानमार्फत करिब आठ हजार यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीको दसैँको बुकिङ ७० प्रतिशतभन्दा बढी छ । दसैँमा यात्रुको मागबमोजिम उडान थप गर्नका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिने कम्पनीको भनाइ छ ।

बुद्ध एयरले थप नयाँ एटिआर जहाज भित्र्याउँदै

आन्तरिक उडानको सबैभन्दा बढी जहाज र उडान हिस्सा ओगट्ने अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरसँग अहिले १३ थान एटिआरसहित १५ थान जहाज छन् । कम्पनीको १६औँ जहाज आगामी डिसेम्बर महिनाभित्रै नेपाल भित्रिने जनाएको छ । बुद्धले १४औँ एटिआर जहाज भित्र्याउन लागेको हो । एटिआर–७२ जहाज भित्रिएपछि प्रमुख गन्तव्यको उडानमा सहजता हुने कम्पनीले विश्वास लिएको छ ।

यता श्री एयरलाइन्सले पनि आफ्ना छ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । दसैँमा यात्रुको मागअनुरुप उडान सङ्ख्या बढ्नसक्ने कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले पाँचवटा जहाजमार्फत सेवा सञ्चालन गरिरहेको छ । पर्यटकीय याम पनि भएकाले हेलिकप्टरको उडानमा पनि चाप बढेको छ ।

दसैँमा कुन एयरलाइन्सका कति उडान ?

सामान्य अवस्थाभन्दा दसैँमा एयरलाइन्सको उडान चाप हुन्छ । यात्रुको सङ्ख्या अत्यधिक भएपछि कम्पनीले उडान सङ्ख्या थपेर भए पनि सेवा दिन्छन् । यो पटकको दसैँमा पनि हवाई यात्रुको अत्यधिक चाप हुने एयरलाइन्सको भनाइ छ । अहिले आन्तरिक उडान व्यवस्थापन गर्न पनि विमानस्थललाई हम्मेहम्मे परेको छ । एक घण्टाको अन्तरालमा १५ भन्दा बढी उडान व्यवस्थापन गर्नु परिरहेको छ ।

एयरलाइन्सका अनुसार हवाई उडान सङ्ख्या बढेसँगै विमानस्थलको आन्तरिक उडानमा समस्या आएको छ । क्षेत्रीय हब विमानस्थलमा स्लट व्यवस्थापन नहुँदासम्म यो समस्या कम नहुने एक एयरलाइन्सका अधिकारीको बुझाइ छ । अहिले बुद्धको १४०, यतीको करिब ५०, श्री एयरलाइन्सको १६ र सौर्यको आठ तथा गुणलगायत एयरलाइन्सको उडान सङ्ख्या पनि बढेको छ ।

विमानस्थलमा एयर ट्राफिक जाम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा चाप बढेकाले एयर ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।

एयर ट्राफिक जामले यात्रुको गुनासो बढेको छ । जहाज लामो समयसम्म होल्ड हुनुपर्ने अवस्था छ । बीस मिनेटदेखि डेढ घण्टासम्म जहाज होल्ड हुने गरेको बताइएको छ । क्षेत्रीय विमानस्थल बेस भएर उडान गर्ने भनिए पनि अहिले सबै वायुसेवा प्रदायकले काठमाडौँ विमानस्थलबाटै पहिलो उडान गर्ने भएकाले विमानस्थलमा ट्राफिक जाम हुने गरेको छ ।

विमानस्थलले भने उडान चापलाई दृष्टिगत गरी आवश्यक व्यवस्थापनमा जुटेको जनाएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सामान्य अवस्थामा भन्दा दसैँ, तिहारलगायत चाडपर्वका बेला जहाजको उडान सङ्ख्या स्वाभाविक रुपमा बढ्छ । यस पटक वायुसेवा प्रदायकको जहाज सङ्ख्या पनि बढेको र सेडुल उडान पनि बढी भएकाले त्यति धेरै समस्या नहुने अनुमान गरिएको छ । “सामान्य अवस्थाभन्दा अक्टोबर महिनाभर उडान सङ्ख्या बढ्छ । उडान सङ्ख्या बढ्नसक्ने अवस्थाको आङ्कलन गरी पूर्वाधारको तयारीमा जुटेका छाँै, त्यो भनेको स्लट व्यवस्थापन मिलाउने र भरसक बिहान र दिउँसो मात्रै चाप हैन साँझको उडानलाई प्राथमिकता दिनेगरी व्यवस्थापन गरिरहेका छौँ,” प्रवक्ता शेर्पाले भने ।

राति ९ बजेसम्म उडान

काठमाडौँ विमानस्थल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुन्छ । काठमाडौँबाट छुटेका जहाज गन्तव्य पुगेर फर्कंदा राति ८ः३० देखि ९ः१५ बजेसम्म समय लाग्छ । यसरी हेर्दा आन्तरिक उडान पनि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ । विशेषगरी क्षेत्रीय हब विमानस्थल रात्रिकालीन उडान योग्य भएकाले पनि उडान व्यवस्थापनमा सहजता आएको विमानस्थलको भनाइ छ ।

सामान्य अवस्थामा भन्दा दसैँका बेला दैनिक १० देखि १५ उडान सङ्ख्या बढ्न सक्ने विमानस्थलले जनाएको छ । अहिले आन्तरिकतर्फ दैनिक करिब ३०० उडान भइरहेको छ ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.