www.tandavnews.com
Fact ~ In search of truth

दसैँ आयो, गास महँगीयाे

जीवन सुवेदी
पाेखरा,ताण्डव न्यूज ।

दसैँ,तिहार,छठ लगायतका चाडपर्वमा नेपालीहरूको भान्सा थेग्नै नसक्ने गरी महँगिएको छ । अघिल्लो दसैँको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ । जसको मारमा आम सर्वसाधारण परेका छन् ।

पोखरा महतगौँडाकी अनिता श्रेष्ठ पोहोरसम्म हजार रुपैँयाले महिना दिन पुग्ने तरकारी किन्थिन् । तर अहिले हजारको तरकारी एकहप्ता पनि पुग्दैन ।

Batas

दैनिक ज्यालादारीमा काम गर्दै आएका धादिङका राम बुढामगर महङ्गी बढ्दा ज्याला भने नबढेको बताउँछन् । झन् दसैंको समयमा बढेको महङ्गीले समस्या बनाएको उनको गुनासो छ ।

नेपाल खुद्रा व्यापार सङ्घले उपलब्ध गराएको तथ्याङ्कअनुसार दैनिक सबै उपभोग्य वस्तुको मूल्य उकालो लागेको छ । खाने तेल र वनस्पति घ्यूको मूल्य ९० रुपैयाँसम्म बढेको छ । यस्तै, मस्यौराको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म बढेको छ । गत असोजदेखि यो असोजसम्ममा ताइचीन चिउरा, सबै प्रकारका दाल र चिनीलगायत वस्तुको मूल्य प्रतिकिलो १०/१० रुपैयाँले बढेको छ ।

यस्तै, सेतो केराउको मूल्य प्रतिकिलोमा ३० रुपैयाँ तथा राज्मा र मेथीको मूल्य प्रतिकिलोमा ४० रुपैयाँ बढेको छ । तरकारीको मूल्य पनि निकै महङ्गो भएको पोखरा १५ नयाँगाउँकी सुनिता विक बताउँछिन् ।

अधिकांश ब्राण्डका खाने तेलमा अधिकतम खुद्रा मुल्य (एमआरपी) प्रिन्ट गरेरै आउँदा प्रतिलिटर ३० देखि ३३ रुपैयाँ फाईदा राखिएकाले पनि उपभोक्तालाई मर्का परेको उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोईरालाले ताण्डव न्यूजलाई बताए ।

उद्योगहरुले नै यसरी एमआरपीमा बृद्धि गरिदिँदा उपभोक्ताहरु मर्कामा परेको र यस विषयमा आफूहरुले सम्बन्धित निकायमा पत्राचार गरेको उनले बताए । बजार भाउ बढेको विषयमा गुनासो आएपनि एमआरपी मुल्य नै बढेको भेटिएपछि आफूहरुले कारवाही गर्न नमिल्ने उनले बताए ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरासंग सहकार्य गरी मञ्चले कपडा पसल, किराना, मदिरा, मार्ट, कस्मेटिक, मासु पसल, रेष्टुरेन्ट लगायतमा नियमीत अनुगमन गर्दै आइरहेको उनले बताए । कोईरालाकै भनाईमा असोज १ गतेदेखि हालसम्म १९ वटा पसलमा अनुगमन भएको छ । अनुगमन पछि गलत गर्नेहरुलाई आफूहरुले कारवाही समेत गरेको कोईरालाले बताए । ‘हामीले बगरमा रहेको पानी पँधेरो डिपार्टमेन्टल स्टोर्शलाई ५० हजार जरिवाना तिरायौँ,” उनले भने,‘उपभोक्तालाई सफ्टवेयरमै बढी मुल्य लिनेगरी सेटिङ गरेर ठगी गरेको भेटिएपछि कारवाही गरेका हौँ।”

त्यस्तै पोखराको बास्तोला ट्रेडर््सलाई ५० हजार जरिवाना गरिएको उनले बताए उक्त ट्रेडर्सले पिपलडाली नामको म्याद नाघेका मसला विक्री वितरण गरेको भेटिएपछि कारवाही गरिएको कोईरालाले बताए ।

सिमेण्ट विक्री गर्दा ब्राण्ड नखुलाई विल बनाएर बेचेको भेटिएकाले प्रकाश शुभ हार्डवयरलाई २ लाख ५० हजार जरिवाना तिराईएको उनले जानकारी दिए । त्यस्तै सोल्टी पानी उद्योगले विलविजक जारी नगरीकन पानी बेचेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना तिराईएको उनको भनाई छ ।  विशेषगरि दसैंको समयमा हुन सक्ने महङ्गी र अनुचित व्यापारिक क्रियाकलापलाई नियन्त्रण गर्न अनुगमनले सघाइरहेको कोईरालले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मुल्य, परिमाण, शुद्धता, गुणस्तरबारेमा सुचित हुन पाउने, सामग्रीको प्रयोगबाट हानि, नोक्सानी भएमा क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित गरेको छ । अनुगमनका क्रममा निरीक्षण अधिकृतले ५ हजारदेखि ३ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । तर पनि महङ्गी भने नियन्त्रणमा आउन सकेको छैन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.