www.tandavnews.com
Fact ~ In search of truth

मर्दी हिमाल चुचुराेमा आठ युवा

कृष्ण दबाडी
कास्की/रासस

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् ।

यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्यीय टोलीमध्येका आठ जनाले असोज १७ गते बिहान ९ः३० बजे सफलतापूर्वक हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । आरोहण टोलीमा सरोजकुमार गुरुङ, सञ्जय थापा, नारायण गुरुङ, सुदीप तामाङ, विनोद पुन, विशाल मगर, ईश्वर परियार र अमृत पुन रहेका छन् ।

Batas

उनीहरुलाई आरोहण प्रशिक्षकद्वय मनमान गुरुङ र कुमार खड्काले प्रशिक्षण दिएका हुन् । त्यसैगरी आरोहणका लागि चाहिने सामग्री लगायतको सबै खर्च अग्रज व्यवसायी गुरुङले व्यवस्थापन गरेका थिए । आरोहणको नेतृत्व गरेर ७५ वर्षीय गुरुङ आफैँ हाइक्याम्पसम्म पुगेकाे बताएका छन् । ग्रेट माछापुच्छ्रे ट्रेल (जिएमटी)का उपाध्यक्षसमेत रहेका आरोही सरोज गुरुङले पदयात्रा पर्यटकको रोजाइमा परेको माछापुच्छ्रे ट्रेल आउने पर्यटकलाई हिमाल आरोहणसँग जोड्नका लागि आफूहरुले प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत हिमाल आरोहण गरेको जानकारी दिए ।

उनले भने, “मर्दी पदयात्रा लागि हामीले एक वर्षदेखि ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धन गरिरहेका छौँ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमाल आरोहणमा आकर्षित गर्ने उद्देश्यले हामी आफैँले हिमाल चढेर सुरुआत गरेका छौँ ।” ग्रेट माछापुच्छ्रे ट्रेल माछापुच्छ्रेको टुसेबाट सुरु हुन्छ । मर्दी आरोहणका लागि सबैभन्दा सजिलो बाटो ग्रेट माछापुच्छ्रे ट्रेल रहेको गुरुङले बताए । केही साहसिक पर्यटकले यसअघि नै मर्दीको सफल आरोहण गर्दै आएका छन् ।

मर्दी पदयात्रा हात्र होइन, साहसिक पर्यटकलाई हिमाल आरोहण गराएर पर्यटकको बसाइँ लम्ब्याउनु आवश्यक रहेकामा जिएमटीले जोड दिएको छ । पर्यटकको सहजताका लागि हिले र खुमइमा तीन÷तीनवटा होटल बनेका छन् । क्रोचोङमा भने विवादका कारण बन्न नसकेको बताइन्छ ।

हिमाल आरोहण गरेर आएको टोलीलाई बिहीबार साँझ गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । युवा क्लब, आमा समूह, नौमति बाजा समूह, माछापुच्छ्रे अग्र्यानिक होमस्टे तथा स्थानीयवासीले फूलमालाले आरोहीलाई सम्मान गरेका थिए । गाउँपालिका अध्यक्ष गुरुङले ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धनका लागि र पर्यटन पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । यस ट्रेलको बढीभन्दा बढी प्रवद्र्धन गर्न सके पर्यटकको रोजाइमा पर्ने उनले बताए । उनले भने, “ग्रेट माछापुच्छ्रे ट्रेलबाटै पर्यटकले पदयात्रा पर्यटनको सबैभन्दा बढी आनन्द लिन सक्छन् । यस क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्दछ ।”

मर्दी ट्रेकका लागि धेरै बाटोहरु छन् । पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने बाटो बढी प्रचलित छ । यसैगरी पोखराबाट जीपमा माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय ग्रेट माछापुच्छ्रे ट्रेलका नाममा माछापुच्छ्रेको टुसेबाट यसको प्रवद्र्धन सुरुआत गरिएको छ ।

एउटै यात्राबाट मर्दी हिमालसहित कुमारी माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । कोरोनाका कारणले दुई वर्षदेखि बाह्य पर्यटक ठप्प रहे पनि आन्तरिक पर्यटक भने बर्सेनि बढेका छन् ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.