www.tandavnews.com
Fact ~ In search of truth

मर्दीको चुचुरोमा टेकेर फर्केपछि आरोहीलाई स्थानीयको भव्य स्वागत

ताण्डव न्यूज/कास्की

माछापुच्छ्रे गाउँपालिकाको सिरानमा रहेको ५ हजार ५८७ मिटर अग्लो मर्दी हिमाल आरोहण गरेर फर्किएका ८ आरोहीलाई वडा नम्बर १ का स्थानीयले भव्य स्वागत गरेका छन् ।

ग्रेट माछापुच्छ्रे ट्रेल कमिटी (जीएमटीसी) मार्फत यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्यीय टोलीमध्येका ८ जनाले असोज १७ गते बिहान साढे ९ बजे सफलतापूर्वक हिमाल आरोहण गरी फर्किएका हुन् । आरोहीहरुलाई जीएमटिसी, गुराँसे भुँमे आमा समूह, गुराँसे भुँमे युवा क्लब, नौमति बाजा समूह, माछापुच्छ्रे अर्गानिक होमस्टे, स्थानीयवासीले भव्य स्वागत गरे ।

Batas

आरोहण टोलीमा सरोजकुमार गुरुङ, सञ्जय थापा, नारायण गुरुङ, सुदीप तामाङ, विनोद पुन, विशाल मगर, ईश्वर परियार र अमृत पुन रहेका छन् । त्यस्तै, प्रशिक्षकमा मनुमान गुरुङ र कुमार खड्कालाई समेत सम्मान गरिएको छ । आरोहणमा संलग्नहरु पर्यटन व्यवसायी हुन् ।

उक्त अवसरमा (जिएमटी)का उपाध्यक्षसमेत रहेका आरोही सरोज गुरुङले पदयात्रा पर्यटकको रोजाइमा परेको माछापुच्छ्रे ट्रेल आउने पर्यटकलाई हिमाल आरोहणसँग जोड्नका लागि आफूहरुले प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत हिमाल आरोहण गरेको जानकारी दिए ।

उनै उपाध्यक्ष सरोजकुमार गुरुङको सभापतित्वमा भएको सम्मान कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, घरपझोङ गाउँपालिका अध्यक्ष शर्मिला गुरुङ, पर्यटनवीद् मेजर रामप्रसाद गुरुङ, वडा सदस्य सुर्जे गुरुङलगायतले आरोहीलाई बधाई दिँदै थप साहसिक र खोजीयात्राको शुभकामना दिए ।

मर्दी पदयात्रा मात्र होइन, साहसिक पर्यटकलाई हिमाल आरोहण गराएर पर्यटकको बसाइँ लम्ब्याउनु आवश्यक रहेकामा जिएमटीले जोड दिएको छ । पर्यटकको सहजताका लागि हिले र खुमइमा तीन÷तीनवटा होटल बनेका छन् । क्रोचोङमा भने विवादका कारण बन्न नसकेको बताइन्छ ।

मर्दी ट्रेकका लागि धेरै बाटोहरु छन् । पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने बाटो बढी प्रचलित छ । यसैगरी पोखराबाट जीपमा माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय ग्रेट माछापुच्छ्रे ट्रेलका नाममा माछापुच्छ्रेको टुसेबाट यसको प्रवद्र्धन सुरुआत गरिएको छ ।

एउटै यात्राबाट मर्दी हिमालसहित कुमारी माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । कोरोनाका कारणले दुई वर्षदेखि बाह्य पर्यटक ठप्प रहे पनि आन्तरिक पर्यटक भने बर्सेनि बढेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.