www.tandavnews.com
Fact ~ In search of truth

दसैँका लागि तनहुँमा रु ३ करोडको खसीबोका बिक्री

कृष्ण न्यौपाने
दसैँका लागि तनहुँबाट करिब रु ३ करोड मूल्य बराबरको खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारीमार्फत् २ हप्ताको अवधिमा रु २ करोड ८२ लाख ३६ हजार ७ सय ९१ मूल्य बराबरको खसीबोका बिक्री भएका हुन् ।

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशु वस्तुको मूल्य शृंखलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ अन्तर्गत १० वटा सहकारीले उक्त मूल्य बराबरको खसीबोका बिक्री गरेका हुन् । तनहुँका ८ र लमजुङका २ गरी १० सहकारीमा आबद्ध कृषकले सहकारीको बजारीकरण कार्यक्रमबाट खसीबोका बिक्री गरेका छन् ।

२ हप्ताको अवधिमा १ हजार ८ सय १७ खसी बिक्री भएका छन् । ती सहकारीले रु २ करोड ७९ लाख ८९ हजार २ सय ४५ मा कृषकसँग खसीबोका खरिद गरी रु २ करोड ८२ लाख ३६ हजार ७ सय ९१ मा बिक्री गरेका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु २० लाख ६५ हजार ४ सय ५९ को खसी बिक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिए । सहकारीमार्फत् १ सय ५२ खसी बिक्री भएका छन् । घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ४३ लाख ९५ हजार ३ सयको खसी बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेले ३ सय ९ वटा खसी बिक्री भएको जानकारी दिए ।

Batas

घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत रु ५० लाख ३९ हजार ६ सय २४ को खसी बिक्री भएको अध्यक्ष संगीता रानाले बताइन् । उक्त सहकारीमार्फत ३ सय ७२ खसी बिक्री भएको छ । भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ८ लाख ७९ हजार ३ सय ९० को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ५६ खसी बिक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताए । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ६३ लाख १ हजार ६ सय ४९ को खसी बिक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताए । सहकारीमार्फत ३ सय २५ खसी बिक्री भएको छ ।

शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु ५ लाख ४ हजार ४ सय ९५ को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ३६ खसी बिक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताए । व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ९४ हजार १ सय ४६ को खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक संगीता पौडेलले सहकारीमार्फत १ सय ४५ खसी बिक्री भएको जानकारी दिए । व्यास नगरपालिका–१२ स्थित आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत रु सात लाख ५८ हजार २ सय १० को खसी बिक्री भएको छ । सहकारी व्यवस्थापक नवीन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी बिक्री भएको छ ।

सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३७ लाख ४२ हजार २ सय ९० को खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट २ सय ४० खसी बिक्री भएको छ । सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ५५ हजार ५ सय ९८ को खसी बिक्री भएको छ । उक्त सहकारीबाट १ सय ३२ खसी बिक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिए ।

सहकारीले बजारीकरणमा सहयोग पुर्याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ । हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्य शृंखलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पुर्याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

‘दसैँतिहारलगायत अन्य बेला पनि गाउँबाटै खसी बिक्री गर्ने व्यवस्था मिलाइएको छ’, पौडेलले भने, ‘यसले गर्दा कृषकलाई बजारको खोजी गर्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।’

बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको संख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिए ।

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा ४ हजारभन्दा बढी कृषक आबद्ध छन् । परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालिम र बजारीकरणमा सहयोग पुर्याउँदै आएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.