www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाबारे चर्चा

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज

नेपाल सम्बतका प्रर्वतक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःका बारेमा पोखरामा चर्चा गरिएको छ । पोखराको नारायणस्थानमा शनिबार विरेन्द स्मृति पार्क संरक्षण समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीबारे चर्चा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं शंखधर साख्वाः प्रतिष्ठानका केन्द्रीयय अध्यक्ष चन्दन श्रेष्ठले साख्वाःको पहिचान, योगदान र चिनारी प्रतिष्ठानले आम नेपालीहरुमाझ पुर्याउँदै आएको बताए । उनको योगदानबारे जानकारी नेवारी समुदायमा मात्र सीमित राख्न नहुँने बताउँदै अध्यक्ष श्रेष्ठले राष्ट्रले दिएको सम्मानलाई सबै समुदायले अपनत्व लिन सक्नुपर्ने बताए । नेपाल सम्बतलाई मौलिक सम्बतका रुपमा विकाश गरिनुपर्नेमा उनको जोड थियो ।

Batas


सो अवसरमा आफ्नो भनाई राख्दै पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र प्रजुले साख्वाःबारे लुकेर रहेका योगदानहरु सबै नेपालीलाई बुझाउनुपर्ने आवस्यकता औँल्याए । शंखधर साख्वाः प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले शंखधरबारे रहेका भ्रमहरु चिर्दै यथार्थ इतिहास उजागरका लागि प्रतिष्ठानले काम गरिरहेको जानकारी दिए । प्रतिष्ठानकै पहलका कारण नेपाल सम्बतलाई राज्यले मान्यता दिएको बताउँदै मानन्धरले नेपाल सम्बतको गरिमा बारे राज्य आफैले सोच्नुपर्ने धारणा राखे ।

नेपाल सम्बत ११ सय २० अर्थात २०५६ साल मंसिर २ गते नेपाल राष्ट्रिय विभूति घोषणा गर्दै नेपाल सम्बत्लाई सरकारले राष्ट्रिय सम्बतको मान्यता दिएको स्मरण गर्दै उनले हाल यसको तिथिमितिबारे स्पष्ट पार्न सफ्टवयरको समेत परिक्षण भइरहेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेवार बाहेकका अरु जातजातीलाई पनि शंखधरका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । शंखधर भनेका नेवारहरुका मात्र विभूति हुन् भन्ने भ्रम समाजमा अझै रहेको बताउँदै मुल्मीले साख्वाःलाई भक्तपुरको ठिमीमा मात्र सीमित गर्न नहुने बताए । फरक प्रसंगमा मुल्मीले राजनीतिक रुपमा नेवारहरुको प्रतिनिधित्वमा ह्रास आउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा भनाई राख्दै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त उदासले विद्वानहरुले लेखेका इतिहासमा पनि शंखधरका बारेमा एकरुपता नभएको औँल्याए । साख्वाःबारे मत मतान्तर धेरै देखिएकाले भएका अभिलेखलाई एकतृत गरी भ्रम निवारण्मा प्रतिष्ठानले पहल गर्नुपर्ने सुझाव दिए ।
विरेन्द्र स्मृति पार्क संरक्षण समितिका अध्यक्ष बसन्तलाल कतिलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मधुमान कतिलाले गरेका थिए ।

को हुन् शंखधर साख्वाः ?

साख्वा र उनको योगदानबारे इतिहासकारबीच एकै प्रकारको मत भेटिँदैन । केहीका लागि उनी अझै विवादका पात्रसमेत हुन् । तर एउटा तथ्य के निश्चित छ भने उनले नै नेपाल संवत् सुरु गरे र यो अहिलेसम्म पनि कायम छ । अझै पनि यसको महत्त्व घटेको छैन, बरू बढेको छ ।

उनलाई ऐतिहासिक पात्र मान्नेको संख्या धेरै छ । अहिले त उनलाई नेपालको राष्ट्रिय विभूति नै मानिन्छ । उनले घरमा ल्याएको बालुवा सुनमा परिणत भएपछि त्यसैको मद्दतले उनले जनतालाई ऋणबाट मुक्त गरेका थिए भन्ने किम्बदन्ती पाईन्छ । र त्यसैको सम्झनामा नेपाल संवत् सुरु भएको मानिन्छ ।
उनीबारे अर्को कथा पनि छ । त्यसअनुसार शंखधर साख्वाः व्यापारी थिए । उनी नजिकका केहीलाई उनको समृद्धतामा यति धेरै डाहा लाग्यो कि उनको गलत प्रचार गरे ।

यसक्रममा तात्कालीन राजाले डाहा गर्नेकै कुर सुनेर उनको सम्पत्ति अतिक्रमण गरे । पछि शंखधर साख्वाःको इमान्दारिताबारे सबैले थाहा पाए । उनको सम्पत्ति पनि फिर्ता भयो । पछि शंखधर साख्वाले त्यसै सम्पत्तिको मद्दतले सबै जनताको ऋण मोचन गरे । यसै घटनालाई सम्झेर नयाँ सम्वत भयो । यी २ किम्बदन्ती मध्ये दोस्रो अलि बढी विश्वसनीय मानिन्छ ।

तिब्बतसँगको व्यापारका क्रममा शंखधर साख्वाः त्यहाँका बौद्ध धर्मका ठूल–ठूला धर्मगुरुहरूसँग सम्पर्कमा आएको हुन सक्छ र त्यसकै प्रभावमा उनले आफूले आर्जन गरेको सम्पत्ति दान गरेर जनताको ऋण मुक्त गरेको हुनुपर्छ । खासमा शंखधर साख्वाः एक व्यापारी थिए, वंशावली र जनविश्वासलाई आधार मान्ने हो भने उनी काठमाडौंका इलाछें टोलका बासिन्दा हुन्, त्यो भनेको अहिलेको भीमसेनस्थान हो । यो टोलमा अझै पनि भीमसेनको मन्दिर रहेको छ र यसको व्यापारसँग नजिकको सम्बन्ध छ । कुनै समय यो टोल आफैं काठमाडौंको व्यापारको केन्द्र थियो, त्यसमाथि शंखधर साख्वाः आफैंले तिब्बतसँग जोडिएको व्यापार गर्थे । काठमाडौं र तिब्बतबीचको व्यापार आफैंमा अद्वितीय र ऐतिहासिक छ ।

केशर पुस्तकालयमा रहेको वंशावलीलाई आधार मानेर भन्दा उनलाई राजा राघवदेवको समकालीन मानिन्छ । इतिहास पल्टाउँदै जाँदा के थाहा हुन्छ भने तिनै राजा राघवदेवको पालादेखि नेपालमा, विशेषतः काठमाडौं उपत्यकामा शक सम्वतको चलन सकिन्छ र सुरु हुन्छ, नेपाल सम्वतको । यो नयाँ सम्वत थियो र यहाँनिर राजा राघवदेव, शंखधर साख्वाः, तिब्बतसँगको व्यापार आदिको धेरै संयोग जोडिन आउँछ । शंखधर साख्वाःले तिब्बत व्यापारका क्रममा अकुत सम्पत्ति कमाए ।

तिब्बतसँगको व्यापारका क्रममा शंखधर साख्वाः त्यहाँका बौद्ध धर्मका ठूल–ठूला धर्मगुरुहरूसँग सम्पर्कमा आएको हुन सक्छ र त्यसकै प्रभावमा उनले आफूले आर्जन गरेको सम्पत्ति दान गरेर जनताको ऋण मुक्त गरेको हुनुपर्छ । बौद्ध धर्ममा दानको ठूलो महत्त्व छ र यसका अनुयायीलाई दान गर्न प्रेरित गरिन्छ । शंखधर साख्वाः पनि यसबाटै प्रभावित भएर ठूलो संख्यामा दान गर्न तयार भए, जसले त्यतिबेलाको जनताको ऋण तिर्न पुगेको थियो । अनि त्यसकै सम्झनामा एउटा सर्वथा नयाँ संवत् नै सुरु भएको विश्वास गरिन्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.