www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीराजमार्ग तनहुँ खण्ड: खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

दमौली ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन ।

पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ । जिल्लाका कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको छ ।

Batas

ट्याक्सी चालक अमित श्रेष्ठले मुख्य राजमार्गकै अवस्थाका कारण सवारी चलाउन मुस्किल हुँदै आएको बताए । “सडकको खाल्डाखुल्डीले निकै सास्ती छ, बिरामी लिएर पोखराका अस्पताल पुग्न गाह्रो छ,” उनले भने, “भनेको समयमा पुग्न सकिदैन । खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई पनि सास्ती भइरहेको छ ।” पानी परेको बेला खाल्डामा पानी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या पनि उत्तिकै रहेको उनले गुनासो गरे । राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको चालक देव श्रेष्ठले बताए । “राजमार्गको अवस्था हेर्दा यस्तो पनि सडक हुन्छ र भन्ने लाग्छ, ग्रामीण सडकको भन्दा पनि खत्तम छ ,” उनले भने, “सम्ब्न्धित निकायको वेवास्ताका कारण जनताले दुःख पाउनुपरेको छ ।”

पछिल्लो केही दिन यता भने सो राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । पृथ्वीराजमार्ग सडक अहिले डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको उनले स्पष्ट पारिन् ।

“यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन । मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौ,” उनले भनिन् ।

क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनले बताइन् । “कार्यालयलाई अहिले सडक मर्मतका लागि पैसा आएको छैन, तर सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभएपनि खाल्डा पुर्न थालेका हौ,” उनले भनिन् ।

राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्कक (एडीबी)को सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ । गत भदौ १३ गते सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको छ । चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी र जामुने–पोखरा ४५ किमीको दुई प्याकेजमा ठेक्का लगाइएको हो ।

बाउन्न वर्षअघि रेखाङ्कन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किमी पर्दछ । सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.