www.tandavnews.com
Fact ~ In search of truth

दसैँमा पनि भारत जानेको लर्को

महोत्तरी, गोपालप्रसाद बराल

दसैँ, तिहार र छठजस्ता राष्ट्रिय महत्वका पर्वमा पनि यहाँका भारतीय सीमावर्ती नाकामा घर आउनेभन्दा काममा जानेको लर्को देखिँदो छ । जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीलगायत भारतीय सीमानाका हुँदै अहिले सयौँ युवा तथा किशोर कामका लागि भारतर्फ जाँदै देखिँदा छन् । अहिले दसैँ पर्व प्रारम्भ भइसकेको छ भने तिहार र छठलगत्तै अर्को पक्षको अन्त्यसँगै सुरु हुँदैछ ।

गत वर्ष २०७७ को प्रारम्भदेखि नै कोभिड–१९ महाव्याधि छल्न घर आएका युवा तथा किशोर अहिले आवतजावत अलि सहज भएपछि चाडबाड नै नभनी कामका लागि भारत जाने क्रम देखिएको हो । महाव्याधि सन्त्रासले झण्डै डेढ वर्ष काम छाडेर घर बसेका युवा तथा किशोर अहिले चाडबाड पनि नभनी कामका लागि भारत जान लागेका हुन् ।

Batas

‘केही वर्ष पहिले हामी चाडबाडमा घर आउँथ्यौँ’, भारतको पञ्जाब जान सम्सी नाकामा भेटिएका जिल्लाको औरही नगरपालिकाको टिम्किया बस्तीका २५ वर्षीय परेग्वा सादा मुसहरले भने, ‘तर, यसपालि दसैँको मुखमा जानुपरेको छ ।’ कोभिड–१९ माहामारीले काम छाडेर घर फर्केयता जहान परिवार पालनमा समस्या बढेपछि चाडबाड पनि नभनी काममा फर्कनुपरेको परेग्वासहितका उनको टोलीमा रहेका युवाको भनाइ छ ।

यसरी अहिले भारततिर जाने लर्कोमा आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक अवसरबाट बञ्चित रहँदै आएका मुसहर, तत्मा, चमार, बाँतर र दुसाध जाति समुदायका किशोर तथा युवा बढी देखिएका छन् । पञ्जाव र हरियाणातिर कृषि कार्यका लागि तथा भारतका अन्य प्रान्तमा अन्य मजदुरी गर्न जानेमा १३ वर्ष उमेरदेखि ३० वर्ष उमेर समूहका बढी देखिन्छन् ।

घरमा अन्नपात र २/४ पैसोको जोहो भएमात्र चाडबाड रमाइलो हुने भारततिर जान लागेका युवा तथा किशोरको आम भनाइ छ । ‘झण्डै २ वर्ष हुन लाग्यो पञ्जावबाट फर्केको, यहाँ मनमाफिकको काम र पारिश्रमिक पाइँदैन’, दसैँको मुखमा आफूले गरेको पुरानो काममा भारतको हरियाणा जान हिंडेका भंगाहा नगरपालिका–४ पलार बस्तीका रामदयाल बाँतरले भने, ‘चाडबाडमा पेट बाँधेर यहाँ बस्नभन्दा काममा जानु ठिक ठानेर हिँडेका हौँ ।’ उता भारत गएर राम्रो काम भेटिए थोरबहुत कमाइ लिएर होली फागुपर्वमा घर आएर स–साना नानीसँग रमाउने धोको साँचेको बाँतरले भावविह्वल हुँदै बताए ।

जिल्लाका यी जाति समुदायका बस्तीमा अहिले दसैँको रौनक देखिँदैन । आमा, दिदीबहिनी र आफन्तले भारी मनले भारत जान बिदा दिइरहेका छन् । ‘पल्लो टोलका मालिक ‘मुसहरले कथित उपल्लो जात भनिने जाति समुदायका लागि मालिक सम्बोधन गर्छन्’ को घरमा अब १/२ दिनभित्रै छोट्का मालिक ‘घरमुली मालिकको छोरा’ आउने कुराको खुशी छ’, भंगाहा–४ कै रामनगर बस्तीको मुसहरीटोलकी ४० वर्षीया हेमनी सादाले भने, ‘हामी फगुवा ‘होली’ पवनीमा खुशी हुने आश साँचेर अहिले छोरालाई पञ्जाव जान बिदा दिँदैछौँ ।’

जिल्लाका मुसहर, बाँतर समुदायको सघन बसोबास भएका धेरैजसो बस्तीमा अहिले हरियाणा, पञ्जाव जाने किशोर र युवा धमाधम निस्कँदै छन् । कतिपय बस्तीमा हिँड्ने तयारी देखिँदो छ । चाडबाडका मुखमा छोरालाई बिदा गर्नुपर्दा मन भारी भए पनि यहाँ भोकै बस्नभन्दा काममा जान नै उचित हुने घरका अभिभावक बताउँछन् ।

खासमा कृषिकार्यमा पोख्त मानिने मुसहर समुदायका उमेरदारी युवाको भारत पलायनले यहाँ जनशक्तिकै अभावमा खेती चौपट भइरहेको किसान बताउँछन् । समयमा जन ‘मजदुर’ नपाउँदा खेतबारी बाँझो बस्ने क्रम बढ्दै गएको बर्दिबास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहाको भनाइ छ । कृषिकार्यमा राज्यबाट भरथेग नपाउँदा किसानले मजदुरलाई राम्रो पारिश्रमिक दिन नसक्नु र यहाँको कमाइले गुजारा नचलेपछि भारत जानुपर्ने गरिबको बाध्यता बनेको कुशवाहा बताउँछन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.