www.tandavnews.com
Fact ~ In search of truth

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै होः प्रधानमन्त्री देउवा

गण्डकी

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएको छ । गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहमा उनले प्रजातन्त्र कसैले खोस्न नसक्ने र यसको खिलाफमा कसैले सपना नदेखे हुने स्पष्ट पारे ।

गण्डकी प्रदेशलाई साक्षर घोषणा गरी साक्षर प्रदेशको बासिन्दा भएकामा प्रदेशवासीलाई बधाइ व्यक्त गर्दै उनले नेपालको संविधानमा शिक्षालाई मौलिक हकका रूपमा राखिएको बताए । शिक्षा मौलिक हक भएकाले सबैले पाउनुपर्ने उनको भनाइ छ । देशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएका प्रयासलाई अन्तर्राष्ट्रिय जगत् र विश्व स्वास्थ्य संगठनले पनि सराहना गरेको उनले बताए । साक्षरता र समृद्धिका बीचमा सोझो सम्बन्ध भएको कुरा विभिन्न अनुभव र अध्ययनले प्रमाणित गरेको उनको भनाइ छ ।

Batas

साक्षर र बाँकी निरक्षरको तथ्यांक यकिन गरी त्यसअनुरुप थप कार्यक्रम सञ्चालनका साथै बजेटको बन्दोबस्त एवं साक्षरलाई निरन्तरताका अवसर सुनिश्चित गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सम्भावना नै सम्भावना रहेको जनाउँदै यसलाई उजागर गर्न संघ सरकारको सहयोग अपरिहार्य भएको बताए । प्रदेशको लाइफ लाइनका रूपमा रहेको त्रिवेणीदेखि कोरोलासम्मको मार्ग निर्माणका साथै विभिन्न सडक पूर्वाधार विकास गर्नु आवश्यक रहेको उनले बताए ।

कतिपय आयोजना तथा कार्यक्रम जग्गा प्राप्त हुन नसक्दा अघि बढाउन नसकिएको जनाउँदै मुख्यमन्त्री पोखरेलले त्यसका आवश्यक सहजीकरण तथा सहयोग गरिदिन आग्रह गरे । दक्षिण एसियाली खेलकुदका विभिन्न खेल सम्पन्न गरेको पोखरा रंगशालामा रात्रीकालीन खेलकुदका लागि बत्तीको व्यवस्थापनका साथै उपकरण जडान गर्न आवश्यक बजेट व्यवस्था गरिदिन पनि उनले प्रधानमन्त्रीको ध्यानकर्षण गराए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाललाई शिक्षित नागरिकको देशका रूपमा चिनाउनुपर्नेमा जोड दिए । साक्षर प्रदेश घोषणासँगै निरन्तर शिक्षाका लागि जोड दिनुपर्ने उनको जोड छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, प्रदेश प्रमुख सचिव डा. दामोदर रेग्मीलगायतले साक्षर प्रदेश घोषणा हुनु समग्र प्रदेशवासीको गौरवको विषय भएको बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.