www.tandavnews.com
Fact ~ In search of truth

नेपाल भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु पनि स्वभाविक होः डा. महत

hima aus

काठमाडौँ

हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा २ देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै हो बताएका छन् ।

भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो ।’

उक्त विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तरक्रियामा उनले भने, ‘धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवैतर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ ।’

classic tech

उनले २ देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण २ देशका बीचमा असमझदारी बढेको धारणा राखेका थिए ।

वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उनले राखेका थिए । भ्रमणमा रहेको डा. महतसहितको कांग्रेसको प्रतिनिधिमण्डललाई उक्त विश्वविद्यालयका चान्सलर भिके शुक्लाले स्वागत गरेको वनारसबाट डा. महतले बताए ।

भारत भ्रमणमा रहेका डा. महतसहित कांग्रेस नेताद्वय उदय शमशेर राणा र अजय चौरसियाले नेपालका पुराना विद्वान्का साथै राजनीतिक दलका नेताले सोही विश्वविद्यालबाट ज्ञान हासिल गरेको प्रसंग उल्लेख गर्दै वनारस हिन्दू विश्वविद्यालय २ देशबीचको ऐतिहासिक सम्बन्धको सेतू भएको बताए । सोही कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताएको थियो । भारतीय जनता पार्टीको आमन्त्रणमा ४ दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया छन् । सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...