www.tandavnews.com
Fact ~ In search of truth

चाडबाड आयो तर शुक्लाफाँटका कर्मचारीले पाएनन् तलब

नगरप्रमुख भन्छन्, खाता सञ्चालनमा ल्याउन सकेनौं, त्यही कारणले कर्मचारीलाई दसैँमा तलब दिन सकिएन

hima aus

कञ्चनपुर

शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन् । दसैंका लागि तलब थाप्न नपाइने भएपछि उनी निराश छन् ।

‘तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दसैं मनाउने योजना थियो’ उनले भने, ‘तलबनै नपाइने भएपछि रमाइलोसँग दसैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ । निकै न्यास्रो लागेको छ ।’ नगरपालिकामा कार्यरत ८३ स्थायी, १ सय ४२ करार र १ जना अस्थायी गरी २ सय २६ कर्मचारीले तलब थाप्न पाएका छैनन् । आधारभूत तह, माध्यमिक तहका गरी ३ सय, निजी स्रोतका ८४ शिक्षक, लेखापाल १३ र बालविकास ६५ गरी ४ सय ६२ विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् ।

वडाको बजेट बाडँफाँट र योजनाको टुंगो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन । ‘वडा कार्यालयले योजना दिन ढिलाइ गरे’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसन सिंह थापाले भने, ‘खाता सञ्चालनमा ल्याउन सकेनौं । त्यसै कारणले कर्मचारीलाई दसैँमा तलब दिन सकिएन ।’

तलब निकासाका लागि प्रयास गर्दागर्दै पनि उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए । नगर परिषद्मा गत असार ९ गते पेश भएको बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच चर्काचर्की भएपछि अवरोध भएको थियो । लामो समयसम्म बजेट बाँडफाँट हुन नसकेपछि अन्यौलताको अवस्था सिर्जना भएको थियो ।

classic tech

विवादकैबीच बजेट बाँडफाँट गरिए वडाबाट योजनानै समयमै उपलब्ध नगराइएपछि कर्मचारीले दसैंका बेला तलबनै पाएनन् । नगरपालिका कर्मचारीका अनुसार बजेटको रातो किताब अहिलेसम्म पनि प्रकाशित भएको छैन । रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय ‘कोलेनिका’ मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानुनी प्रावधान रहेको छ ।

तलब नपाइएपछि अधिकांश नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकले आफन्तबाट सापटी र कर्जा लिएर दसैंको खर्च चलाउने योजना बनाएका छन् । ‘दसैंमा तलब पाएनौं’ नगरपालिकाका कर्मचारी गोकुल जोशीले भने, ‘आफन्तबाट सापटी माग्ने योजनामा छौं । पाउने नपाउने निधो छैन । खर्च नभएपछि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ ।’

आव २०७८÷७९ को पहिलो त्रैमासिक तलब भत्ता चाँडोभन्दा चाँडो निकासाका लागि नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाउँदासमेत पाउन नसकिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर कमिटी अध्यक्ष लोकेन्द्र कुँवरले जानकारी दिए ।

‘केही दिनअघिनै शिक्षक कर्मचारीको मासिक तलब निकासाका लागि माग गरेपनि पाउन सकेका छैनौं’ उनले भने, ‘खर्च बिनानै वर्षमा एकपटक आउने दसैं मनाउनुपर्ने भएको छ ।’

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...