www.tandavnews.com
Fact ~ In search of truth

काभ्रेमा स्मार्ट लकडाउनः चाडबाडमा भीडभाड नगर्न प्रशासनको आग्रह

काभ्रेपलाञ्चोक

जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडबाडमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ‘डिसिसिएमसी’ को बैठकले समुदायमा संक्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो–जोन’ मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ ।

निषेधाज्ञा गए राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भनिएको छ । चाडबाडमा बजारमा भीडभाड नगर्न, हिँडडुल गर्दा तथा भेला, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, ब्यूटीपार्लर, जिमखाना आदि सञ्चालन गर्दा स्वास्थ्य–सुरक्षा एवं सामाजिक दूरी कायम गर्नुपर्ने, हाट, मेला, जात्रा महोत्सवमा भीडभाड कम गर्ने तथा निर्धारित जनस्वास्थ्यका मापदण्ड अपनाउन जारी आदेशमा उल्लेख गरिएको छ ।

Batas

साथै गोष्ठी, सेमिनार, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने, सार्वनजिक यातायातका साधानमा कूल सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, विकास–निर्माणका सामग्री ढुवानी जिल्लाभित्र साँझ ७ देखि बिहान ६ बजेसम्म तथा जिल्ला बाहिर राति ९ देखि बिहान ५ बजेसम्म मात्रै गर्ने आदेश जारी गरिएको छ । आदेश अवज्ञा गर्ने जो–कोहीलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने जनाइएको छ ।

यसैबीच जिल्लाको ४ गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको संख्या भने बढिरहेको केन्द्रको तथ्यांकले देखाएको छ । कोरोना संक्रमणमुक्त हुनेमा चौँरीदेउराली, रोशी, महाभारत र खानीखोला गाउँपालिका छन् । तेमालमा १, मण्डनदेउपुर नगरमा २ र बेथानचोक गाउँपालिकामा ३ संक्रमित रहेका छन् । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ भने १७ संक्रमणमुक्त भएका हुन् ।

जिल्लामा हाल ८९ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा २८, पाँचखालमा १४, धुलिखेलमा १८, पनौतीमा १०, बेथानचोक र नमोबुद्ध नगरमा ११ रहेको केन्द्रले जनायो । जिल्लामा हालसम्म १४ हजार ६ सय ७८ मा संक्रमण देखिएकामा १ सय ९२ को मृत्यु भएको छ । हालसम्मका कूल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार ३ सय ७९ संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.