www.tandavnews.com
Fact ~ In search of truth

पर्यटक पर्खदैं: धन्दुर सिद्ध गुफा

सिद्ध गुफा पहिला ७ तलासम्म रहेकोमा पछि आफैँ पुरिँदै गएर अहिले ४ तलासम्म मात्र

दमौली

तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्ध गुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १ सय पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ ।

पर्यटक भित्र्याउने तयारीसहित सिद्ध गुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम थाले पनि कोभिड–१९ का कारण प्रभावित भएको थियो । कोभिड–१९ पूर्व दैनिक २ सयदेखि ३ सय आन्तरिक पर्यटक धन्दुर सिद्ध गुफा पुग्ने गर्ने बताइएको छ । धन्दुर सिद्ध गुफा समितिका अध्यक्ष दधिराज सुवेदीले विस्तारै जनजीवन सामान्य बन्दै गएकाले पर्यटक आउने विश्वास गरिएको बताए ।

Batas

सिद्ध गुफा परिसरमा चमेरो र सिद्ध गुफासमेत छन् । चमेरो गुफाको लम्बाइ करिब १ हजार ५ सय मिटर छ भने सिद्धगुफाको लम्बाइ ३ सय मिटर छ । सिद्ध गुफा ३ तलाको छ । परापूर्वकालमा शिकारीले शिकार खेल्न जाने क्रममा मृग लखेट्दै जाँदा चमेरो गुफाभित्र पसेको र सो मृगलाई शिकारी कुकुरले लखेट्दै जाँदा चमेरो गुफाबाट पसेर मोहोरियामा निस्किएको किंवदन्ती रहँदै आएको उनले जानकारी दिए ।

वर्षायाममा पानी पर्दा मोहोरियाको केही क्षेत्रबाट पानी पसेर चमेरो गुफाबाट पानीको भेल निस्कने गरेको बताइन्छ । चमेरो गुफा नेपालकै लामो गुफा रहेको दाबी गरिएको छ । सिद्ध गुफा पहिला ७ तलासम्म रहेकोमा पछि आफैँ पुरिँदै गएर अहिले ४ तलासम्म मात्र रहेको अध्यक्ष सुवेदीले बताए ।

भिमाद बजारबाट पश्चिमतर्फ ३ किमी दूरीमा रहेको सिद्ध गुफाको धार्मिक ऐतिहासिक महत्व रहेको छ । जिदी खोला किनारको घनाजंगल क्षेत्रमा रहेको सिद्ध गुफाभित्र स्वनिर्मित आकर्षक ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुड, शिवलिंग र विभिन्न देवीदेवताका आकृतिले पर्यटकलाई लोभ्याउने गर्दछ । सिद्ध गुफाभित्र रहेको गाईको थुनमुनि कुनै पनि व्यक्तिले हात थाप्दा दूध चुहिए उक्त व्यक्ति भाग्यमानी हुने जनविश्वास रहँदै आएको छ ।

बजारको होहल्ला र कोलाहलबाट मुक्त हुन धेरैजसो व्यक्ति यहाँ पुग्ने गर्छन् । सडक सञ्जालको राम्रो व्यवस्था भएकाले जुनसुकै सवारीसाधन यस क्षेत्रमा पुग्न सक्छ । यो ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य छ । गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङ निर्माण सम्पन्न भइसकेको छ । समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजना बमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्ध गुफासम्म र गुफाबाट चमेरो गुफासम्म पुग्ने १ किमी दूरीमा ढलान सिँढी, सिद्ध बाबाको मन्दिर, ३ शौचालय र पानीको दह निर्माण गरिसकेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्ध गुफा सयौँ वर्षअघि पत्ता लागेको हो । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५ सय अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.