www.tandavnews.com
Fact ~ In search of truth

साफ च्याम्पियनसिपमा सहभागी फुटबल टीमलाई कुश्मा नगरपालिकाद्वारा रु २ लाख दिने घोषणा

पर्वत

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले रु २ लाख पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टिमलाई पुरस्कारस्वरुप उक्त रकम दिने घोषणा गरेको हो ।

‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट रु २ लाख पुरस्कारको घोषणा गर्दछु’, नगरप्रमुख जोशीले भने । खेलाडीको सम्मान गर्न सकेमात्रै नेपाली खेलकूद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको जोशीले बताए ।

Batas

सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उनले बताए । नगरपालिकाले छिट्टै नगरसमिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पुर्याउने जोशीले बताए ।

‘थ्याङ्क्यु अब्दुल्लाह’

माल्दिभ्समा आयोजना भएको १३ औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् । साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि पहिलोपटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज तथा अखिल नेपाल फुटबल संघ ‘एन्फा’ का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको थियो । त्यस्तै नेपाली टोलीलाई स्वागत गर्न फुटबल समर्थककोसमेत बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले ‘थ्याङ्क्यु अब्दुल्लाह’ भन्दै नारा लगाएका थिए । प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी भने माल्दिभ्सबाटै कुवेत प्रस्थान गरेका छन् ।

अल्मुताइरीले फाइनल खेलपछि भने २ साता आराम गर्ने र त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने अन्तिम निर्णय लिने बताए ।

विभिन्न ५ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो भने भारतले लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो । १३ औँ संस्करणसम्म आइपुग्दा भारतले भने आठौँ पटक साफ च्याम्यिनसिपको उपाधि चुम्न सफल भयो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.