www.tandavnews.com
Fact ~ In search of truth

महाकाली नदीको बाढीले खतराको सतह नाघ्योः पहुँच मार्ग भत्कायो

महाकाली नदीमा फसेका ५ जना रुखमाः उद्दारको आग्रह

राजेन्द्रप्रसाद पनेरु

भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका ५ जना उद्दारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ ।

स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्दारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्दार टोली पुग्न ढिलाइ भएको छ । यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यायमा सरेको छ ।

Batas

सुकाएको धान बगायो

लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् ।

नन्दगाउँ, कस्वा, विनावारी, नौरंगा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए । ‘केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो,’ उनले भने, ‘केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पुर्यायो । निकै ठूलो क्षति भएको छ । पानी पर्न थालेको ४८ घण्टा बित्न लागेको छ । पूरै खेत र बस्ती जलमग्न छन् । काटेको सबै धान बगेको छ ।’

नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाका अनुसार धानबाली पूरै नदीमा बगेको टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन । ‘निकै ठूलो नोक्सानी भएको छ । किसानले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । नदी गाउँ पस्दा विगतमा डुबानमा पार्ने गरेको थियो । खेतमा लगाएको बाली नै बगाएर लगेको थिएन । यस बर्ष बाली भित्र्याउने तर्खर सुरु हुनै लाग्दा पूरै बग्यो,’ उनले भने ।

स्थानीय लक्ष्मण रानाले १० कट्ठा जग्गामा लगाएको धानबाली पूरै नदीले बगाएको बताए । काटेर सुकाउन राखेको धानसँगै मुठा बाँधेर राखेको धानसमेत बगेको उनले बताए । ‘पानी पर्दै गरेकाले खेतमा बग्न बाँकी रहेको धानसमेत थन्क्याउन सकिने अवस्था छैन । घुँडाभन्दा माथि पानी छ,’ उनले भने, ‘कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।’ स्थानीय किसानले सरकारसँग धानको क्षतिपूर्ति र तत्काल राहत उपलब्ध गराउन मागसमेत गरेका छन् ।

दोदा नदीको जलस्तर अहिले ३ दशमलव ५ मिटर रहेको छ । नदीको पानीले चेतावनी तह पार गरेको छ । अझै वर्षा भए नदी गाउँपालिका क्षेत्रका गाउँमा पस्ने खतरासमेत बढेको छ । गाउँपालिकाका होचा ठाउँमा भने नदीको बाढीको पानी पसेको छ । नदीले जग्गा कटानको कार्यसमेत तीव्र रुपमा गरिरहेको छ ।

महाकाली नदीको पुल जोडने पहुँच मार्ग बाढीले भत्कायो

महाकाली नदीको बाढीले ४ लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो । बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ ।

पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्ग भत्किएको स्थानमा पुगेको छ । आयोजनाका निमित्त प्रमुख चेतराज जोशीको नेतृत्वमा कार्यालयको प्राविधिकसहितको टोली पहुँच मार्गमा पुगेको छ । टोलीले मार्ग भत्किएको स्थानमा स्थलगत निरीक्षण गरी ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना कार्यालयका सवइञ्जिनीयर दुर्गादत्त अवस्थीले बताए । उनले पुल निर्माण कार्य नसकिएर हस्तान्तरण नभएकाले ठेकेदारले भत्किएका सबै संरचना बनाउनुपर्ने बताए । यसअघि बाढीले पुल नजिकैको मार्ग भत्काएको थियो । ठेकेदार कम्पनीले पहुँचमार्ग संरक्षणका लागि ठूला ढुंगा व्यवस्थापन गर्न नसकेपछि केही महिनाअघि समेत पुल जोडने पहुँच मार्ग भत्काएको थियो ।

कुमार सिएफइसी जेभीले २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो । ३ वर्षमा निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको छ ।

यसैगरी आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर ३ लाख ९१ हजार क्युसेक पुगेको छ । नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले बाढीले पुर्याउको क्षति बारे तथ्यांक संकलन तथा उद्दारको काम भइरहेको जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरे ।

सो अवसरमा उनीहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिएको छ । महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट गर्दै मन्त्री खड्काले तत्काल राहत र अन्य सहयोगका लागि कार्य अगाडि बढाउन सरकार तत्पर रहेको बताए । बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा नियकालाई निर्देशन दिँदै उनले भने, ‘थप के सहयोग चाहिन्छ, त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ ।’

मन्त्री खड्काले बेमौसममा आएको वर्षाले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै डुवानसँगै किसानको धानबालीमा व्यापक क्षति गरेको उल्लेख गर्दै प्रदेशका तर्फबाट किसानलाई हरसम्भव सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.