www.tandavnews.com
Fact ~ In search of truth

मुग्लिङ-पोखरा सडक विस्तारः तनहुँ खण्डमा ७ हजार रुख काटिने

कास्की खण्डमा भने १ हजार २ सय ५० रुख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा

दमौली, कृष्ण न्यौपाने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब ७ हजार रुख काटिने भएको छ ।

मुग्लिङ–पोखरा सडकखण्ड ४ लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार ७ सय ५० रुख काटिने भएको हो । तनहुँ खण्डमा रुख काट्नलाई वन विभागबाट स्वीकृति पाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने १ हजार २ सय ५० रुख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा छ ।

Batas

चार लेनको मुग्लिङ–पोखरा ८० किलोमिटर सडक विस्तारमध्ये हालसम्म तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको ८ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।

विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ‘एडिबी’ को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुर्इ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना ‘आँबुखैरेनी–जामुने’ पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सर्भे डिजाइन सकाएर फाइनल गर्ने चरणमा रहेको उनले बताए । उनका अनुसार रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा यो खण्डको ठेक्का सम्झौता भएको छ ।

मुग्लिन-पोखरा सडक योजना पश्चिम ‘जामुने–पोखरा’ खण्डको ठेक्का पाएको यनहुर्इ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइेपुगका छन् । भदौ १३ मा यनहुर्इका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिए ।

भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि आएपनि कामदार भने आइपुगेका छैनन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरीक्षण, बीमा र पेश्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन् । रु ७ अर्ब ४० करोड ४६ लाखको लागतमा यो प्याकेजको ठेक्का लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक ४ लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम ‘जामुने–पोखरा’ खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिए । तीमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उनले बताए । बाँकी २९ पुल २ प्याकेजमा लगाइएको ठेक्काअन्तर्गत नै निर्माण हुनेछ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्ग भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिङ–पोखरा ४ लेन सडक योजनाका लागि रु ४ अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु २ अर्ब ९ करोड ५४ लाख ४ हजार विनियोजन भएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.