www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन प्रचारः ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङको भ्रमणमा

पोखराका १२ साइकलयात्री साइकल यात्रामा

मनाङ

लामो समय कोभिड- १९ को संक्रमण न्यूनीकरणपश्चात् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङको भ्रमणमा आएका छन् ।

उक्त समूहका सदस्यले बेमौसमी वर्षाका बाबजुद पनि बिहीबारदेखि यात्रा थालेका हुन् । अन्नपूर्ण पदमार्गको प्रवद्र्धनका साथै भ्रमण गरी पर्यटकलाई यात्राका बारेमा जानकारी दिने र आवश्यक प्रचारप्रसार गर्ने उद्देश्यले यत्रामा निस्किएको समूहका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

Batas

उनका अनुसार सबैभन्दा अग्लो स्थान ‘४,९१९ मिटर’ मा रहेको तिलिचो तालसम्म साइकलका माध्यमबाट नै पुग्ने योजना रहेको छ । उनीहरुले १३ दिने प्याकेज बनाएर तिलिचो ताल र अन्नपूर्ण पदमार्गको भ्रमणमा निस्किएका हुन् । पहिलो दिनमा पोखराबाट यात्रा सुरुआत गरी लमजुङको बेंसीशहर हुँदै स्यागेमा पुगेर रात बसेको र दोस्रो दिन स्यागेबाट धारापानीसम्मको यात्रा भइरहेको पौडेलले बताए । उक्त समूह शुक्रबार हिमाली जिल्ला मनाङको धारापानीमा पुगेर बस्ने उनले बताए ।

‘बेमौसमी वर्षाले मनाङका सडकमा धेरै समस्या रहेको छ । पर्यटन आउने मौसममा नै सडकको समस्याले धेरै असर गरेको छ । जिल्लामा भित्रिने पाहुनालाई सहज बनाउनका लागि जिल्लावासी र सम्बन्धित निकाय सजग हुनुपर्ने देखिएको छ’, संयोजक पौडेलले भने, ‘पदमार्गसँगै सडकमा पैदलयात्रा गर्नसमेत समस्या भएको पायौँ, सायद मौसममा सुधार भएमा सहज हुनेछ भन्ने अपेक्षा छ ।’

पोखराका १२ साइकलयात्री साइकल यात्रामा निस्किएका हुन् । उनीहरु शनिबार धारापानीबाट मनाङको सदरमुकाम चामे आइपुग्ने छन् । आइतबार चामेबाट मनाङ गाउँ पुग्ने तालिका रहेको छ । त्यस्तै सोमबार मनाङ गाउँबाट तिलिचो बेसक्याम्प, मंगलबार तिलिचो बेसक्याम्पबाट याक खर्कसम्मको यात्रा गर्ने छन् ।

त्यसैगरी बुधबार बेसक्याम्पबाट थोराङ्ला पास, बिहीबार थोराङ्ला पासबाट मुक्तिनाथको यात्रा तय गर्ने योजनासहित साइकलयात्रीको समूह भ्रमणमा निस्किएको अर्का संयोजक धरमबहादुर लामिछानेले जानकारी दिए । उनका अनुसार शुक्रबार मुक्तिनाथदेखि मार्फा, शनिबार मार्फादेखि तातोपानी, आइतबार तातोपानीदेखि गोडेपानी र सोमबार गोडेपानीदेखि पोखरा पुगेर यात्राको समापन गर्ने योजना रहेको छ ।

मौसममा केही सुधार भएपछि मनाङमा पर्यटनलाई तिलिचो तालसम्म जान दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम भएकाले पनि मौसमको अनुकूलताअनुसार पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पाससम्म गर्न दिइएको उनले बताए ।

‘मौसम अनुकूल भएको अवस्थामा पर्यटकलाई आवतजावत गर्न दिइएको छ । सुरक्षा व्यवस्था पनि गरिएको छ । सबै स्थानमा सडक सहज नभए पनि सुरक्षित यात्रा गर्ने वातावरण बनाउनतर्फ लागिपरेका छौँ । मौसम सुधार भएपछि भने सडकको पनि मर्मत गर्ने तयारीमा रहेका छौँ’, प्रजिअ आचार्यले भने ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.