www.tandavnews.com
Fact ~ In search of truth

भ्याकेसन मुडः पोखरा र आसपासका यि ठाउँहरु घुम्नुभयो ?

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

पर्यटन वर्ष घोषणा गरेर पर्यटक बोलाउन नपाउँदै कोरोना महामारीको चपेटामा पर्या नेपालको पर्यटन । २०७६ चैत ११ अघिसम्म निर्वाध हिँडडुल गरिरहेका नेपालीहरु एकाएक घरको कोठामा सिमित बन्न पुगे । उसो त २०७२ बैसाखमा गएको भूकम्पको घाउमा खाटो बस्दै थियो । झन् कोरोना महामारीपछि विदेशी मात्र होईन स्वदेशी पर्यटकहरु पनि घुम्न निस्कने वातावरण बनेन ।

चीनको वुहानमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाईरसले यति धेरै तहस नहस बनाउला भनेर सायदै कसैले सोचेका थिए । तर एक हप्ताका लागि सुरु भएको लकडाउन अवधि करिब ५ महिना सम्म लम्बियो । पहिलो लहरपछि पुनः दोश्रो लहरले त पर्यटनमा निकै ठूलो असर ग¥यो । तर अब पोखरेली पर्यटनमा थोरै आशाका किरणहरु देखा परेका छन् । यस पटकको दशैँमा पोखरामा आन्तरिक पर्यटकहरुको राम्रै चहलपहल भयो । अझ बेमौषमी वर्षा र बाढी पहिरो नहुँदो हो त पोखरामा स्वदेशी पर्यटकहरुको अझ बढी भीड लाग्न सक्थ्यो ।

Batas

महामारी विस्तारै कम हुँदै जानेहो भने विस्तारै पोखराको पर्यटन लयमा फर्कने आशा पर्यटन व्यवसायीहरुले गरेका छन् । पोखरा आउने पर्यटकहरुको बसाईँ लम्ब्याउन पर्यटन सम्बद्ध संघ संस्थाहरुले पहल गरिरहेका छन् । किनभने बाहिरबाट पोखरा आउनेहरुलाई लेकसाईड क्षेत्र मात्र पोखरा हो भन्ने भान हुनसक्छ । तर पोखरा र आसपासका क्षेत्रमा धेरै त्यस्ता घुम्न योग्य ठाउँहरु छन् जो अझैपनि ओझेल परिरहेका छन् । तपाईपनि पोखरा घुम्न आउने सोच बनाउँदै हुनुहुन्छ वा पोखराको बसाई लम्ब्याएर यहाँको प्राकृतिक छटा नियाल्न चाहनुहुन्छ भने पोखराबाट छोटो दुरीकै यात्रामा पुग्न सकिने रमणीय ठाउँहरु प्रशस्त छन् ।

तालैतालको शहर पोखरा

पोखराको अर्को नाम हो तालैतालको शहर । पोखरामा फेवातालमात्र होईन आसपासमा ९ वटा तालहरु छन् । ती तालहरुको छुट्टाछुट्टै विशेषता पनि छन् । पोखरा आउने पर्यटकहरुले बेगनास, रुपा, खाष्टे, मैदी, गुँदे, न्यूरेनी, दिपाङ, कमलपोखराी जस्ता तालहरु घुम्न सक्छन् । यी तालहरुमा पुग्नका लागि सहज छ । किनभने तालसम्म पुग्नका लागि पूर्णरुपमा बाटो बनिसकेको छ । सार्वजनिक सवारीबाट एकैदिनमा सम्भव नभएपनि साईकल, मोटरसाईकल वा निजि सवारी लिएर आउने पर्यटकहरुका लागि एक दिनभरमा नौ वटै तालको भ्रमण गरी यसको सुन्दरता अवलोकन गर्न सकिन्छ ।

त्यस्तै पोखराको मुटुको रुपमा रहेको फेवाताल ताल नेपालमा रहेका तालहरुमध्येको सुन्दर ताल पनि हो । तर यसलाई अवलोकन गर्नका लागि पनि धेरै ठाउँहरु छन् । बैदाम, तालबाराही वा ड्यामसाईडबाट मात्र हेरेर फर्कनेहरुलाई तालको पूरै सुन्दरता थाहा हुँदैन । यसका लागि अनदुडाँडा, रातामाटे डाँडा, पामे हुँदै निर्मानेसम्म तालको अवलोकन गर्ने प्रशस्त ठाउँहरु छन् ।

फेवा तालको कूल लम्वाई करिव ४.८ कि.मी. र चौडाई १.५ कि.मी.सम्म रहेको पाइन्छ । यस तालको क्षेत्रफल १०.१ वर्ग कि.मी. रहेकोमा हाल विभिन्न कारणले पुरिएर तालको क्षेत्रफल ४.४३ वर्ग कि.मी. रहेको छ । गहिराई करीब २४ मिटरसम्म रहेको यस तालमा सुन्दर माछापुच्छे्र हिमालको प्रतिविम्व स्पष्ट देख्न सकिन्छ । तर अधिकांश पर्यटकहरुले उक्त दृश्य देख्न पाएका हुँदैनन् । उक्त दृश्य हेर्नका लागि ड्यामसाईड हुँदै रानीन क्षेत्रमा पुग्नुपर्दछ । बैदामको किनारामा रहेका हुनाले र तालको बीचमा तालवाराही मन्दिर रहेकोले यसलाई वैदाम ताल तथा वराहताल पनि भन्ने गरिन्छ । तालको बीचमा प्रसिद्घ तालवाराही मन्दिर रहेको छ ।

गुफाको शहर पोखरा

पोखरा घुम्न आउनेहरुका लागि घुम्नैपर्ने ठाउँ यहाँका गुफाहरु पनि हुन् । पोखरामा रहेका गुफा मध्ये पाँच वटा गुफा अवलोकनका लागि महत्वपूर्ण छन् । महेन्द्र, चमेरे, गुप्तेश्वर महादेव र ईन्द्र गुफा ।

तीमध्ये महेन्द्र गुफा र चमेरे गुफा पोखरा १६ बाटुलेचौर क्षेत्रमा र पोखरा २० भलाममा क्षेत्रमा हरिहर गुफा रहेको छ । त्यसैगरी गुप्तेश्वर महादेव गुफा पोखराको वडा नं १७ स्थित छोरेपाटनमा छ । पोखरालाई पर्यटकीय नगरीका रुपमा परिचित गराउने यी सबै गुफाहरुको अवलोकन गर्नका लागि प्रति गुफा एक दिनको समय छुट्याउन सकिन्छ । गुफा अवलोकनका गर्न चाहनेहरुका लागि यी क्षेत्र अध्ययन केन्द्र पनि बन्न सक्दछन् । महेन्द्र गुफा क्षेत्रले करीब ४६ रोपनी जग्गा ओगटेको छ । यो पोखराको ठूलो गुफा पनि हो । यो गुफा दुई भागमा बाँडिएको छ । गुफाभित्र हात्तीको सुँड, गाईका स्तनहरु, शिवलिङ्ग, नाग आदि आकृत्तिहरु रहेको देख्न सकिन्छ । जनकवि केशरी स्वर्गीय धर्मराज थापाका भनाइमा तत्कालिन राजा महेन्द्र यस गुफाभित्र पुगेपछि यसको नाम सोधेको र आफैले गुफाभित्र पसी अवलोकन गरेपछि आजदेखि यसको नाम महेन्द्र गुफा भनेर नामाकरण गरिएको थियो । यो गुफाको लम्वाई १२५ मिटर रहेको छ ।

बाटुलेचौरमै महेन्द्र गुफाभन्दा केही पश्चिमपट्टी चमेरे गुफा रहेको छ । गुफाको बनोट चुनढुङ्गाबाट बनेको र गुफाभित्र विभिन्न आकारका मूर्ति, शिवलिङ, श्रीपेच, गणेश आदि चित्राकृतिहरु देख्न पाइन्छ । गुफाभित्र दशहजार चमेराहरु रहेको बताईन्छ । गुफाको एउटा प्वालबाट पसेर अर्काे प्वालबाट निस्कन सकिन्छ ।

यो प्रसिद्ध गुफा पोेखराको छोरेपाटनमा पर्दछ, जो सिद्धार्थ राजमार्गको छेउमा पर्दछ। पोखराको प्रसिद्घ पाताले छाँगोदेखि दक्षिणपट्टी रहेको यो गुफा दिन प्रतिदिन व्यवस्थित र प्रसिद्घ हुदै गइरहेको भेटिन्छ । यस गुफाको बारेमा व्रिटिश कार्श रिसर्च सेन्टरले समेत सन् १९७०, १९८० र १९८२ मा अनुसन्धान गरी तथ्यहरु प्रकाशनमा ल्याएको पर्यटन कार्यालय पोखराले जनाएको छ । गुफाको प्रवेशद्घारदेखि करीब ४०० फिट सुरुङभित्र प्राकृतिक आश्चर्यको रुपमा शिव, पार्वती, नाग, गणेश, मुसा सहितको शीलामूर्ति प्रतिस्थापन गरिएको छ । उक्त मूर्ति ३०० फीट तल सुरुङ मार्ग हुुँदै पाताले छाँगोको पिंध भागमा पुगेर मनमोहक दृश्यहरु देख्न सकिन्छ । यसलाई वात्सायन महर्षिले तप गरेको पुण्य भूमिको रुपमा बुझिन्छ ।

त्यस्तै पोखराको पूर्वाेत्तर अन्नपूर्ण श्रृङखलाको काखमा अवस्थित हरिहर गुफा भलाममा पर्दछ । हरि भनेको विष्णु र हर भनेको शिव बुझाउने अर्थमा यसको नाम राखिएको स्थानीय बासिन्दाहरु बताउँछन । कटुस, चिलाउने, नारेश्वर, सिमल, आँप आदि घना बनका बीचमा रहेको यो गुफा ज्यादै रमणीय छ । यहाँबाट पोखरा उपत्यका एवं विभिन्न हिमश्रृङखला देख्न सकिन्छ ।

पोखराबाट नजिकैको अर्को गुफा हो ईन्द्रगुफा । कास्की जिल्लाको हंसपुरको माथिल्लो टापुमा यो इन्द्र गुफा अवस्थित छ । स्याकलुङकोटदेखि करीब २.५ कि.मी पूर्वमा रहेको गुफाको उचित व्यवस्थापन भई नसकेतापनि गुफाको लम्वाई मादी नदीसम्म पुगेको स्थानीय बासिन्दाको अनुमान रहेको छ ।

कोटहरु

पोखरा उपत्यकाबाट नजिकै अग्ला अग्ला डाँडा अर्थात् कोटहरु रहेका छन् । बाईसे चौविसे राज्यका पालामा यस्ता कोटहरुमा राजाका दरबार थिए । ती ठाउँहरु अहिले पनि विभिन्न शक्तिपीठका रुपमा पनि परिचित छन् । अग्ला चुचुराहरुमा पुगेर उत्तरमा देखिने हिमाल, सेतीनदी, तालहरुको अवलोकनका लागि पोखरा गज्जबको ठाउँ हो । सराङ्कोट, कास्कीकोट, पुम्दीकोट, रुपाकोट, काहुँकोट (काहुँडाडाँ), टाईगरटप हिल, धम्पुस, मट्टिखान, कालिकाकोट (कालिकास्थान), कन्दनी डाँडा, सुन्दरीडाँडा, ठूलाकोट, पाउँदुरकोट, लगायतका अग्ला स्थानहरु पनि पर्यटकहरुका लागि आकर्षक गन्तव्य हुन् ।

सराङ्कोट पोखरा महानगरपालिकाको वडा नं १८ मा पर्दछ । पोखरा बजार क्षेत्रबाट उत्तरपश्चिम अवस्थित सराङकोट समुन्द्र सतहबाट १५९२ मिटरको उचाइमा छ । पोखराका रमणीय दृश्य, सुर्योदय र सुर्यास्त हेर्न चाहने जो कोहीका लागि यो सराङ्कोट नजिकैको गन्तव्य हो । उक्त ठाउँमा एउटा भ्यु–टावरको समेत निर्माण गरिएको छ । साथै उक्त ठाउँ प्याराग्लाइडिङ गर्ने पर्यटकहरुको पनि मुख्य केन्द्र हो । त्यस्तै सराङ्कोटसंगै जोडिएको र सहजै पुग्न सकिने ठाउँ हो कास्कीकोट । पोखरा महानगरको वडा नं २४ मा पर्ने कास्कीकोट शाह वंशको उद्गमस्थल पनि हो । समुन्द्री सतहदेखि करिक १६ सय मिटरको उचाईमा अवस्थित कास्कीकोटमा गुप्तकालिकाको मन्दिर रहेको छ । उक्त ठाउँ कश्यप ऋषिको तपोभूमि पनि हो । त्यहाँ कश्यप ताल समेत अवलोकन गर्न सकिन्छ ।

त्यसैगरी पोखराको दक्षिण भेगमा अवस्थित भरतपोखरी, निर्मलपोखरी तथा कृष्ती नाच्नेचौरका विभिन्न स्थानहरु समेत पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरु छन् । जहाँबाट उत्तरतर्फ हिमालसंगै पोखरा बजार क्षेत्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । निर्मलपोखरीमा झिमलथुम, फोगसिंह डाँडा, काहुले डाँडा, कोत डाँडा र डाँडाको पोखरी लगायतका दर्शनीय मनोरम स्थलहरु रहेका छन्। यसैगरि कृष्ती नाच्नेचौरको मट्टीखान क्षेत्र पनि प्रसिद्ध पर्यटकीय क्षेत्र हो।

कोटहरुको चर्चा गरिहँदा छुटाउनै नहुँने गन्तव्य मध्यको अर्को हो पुम्दीकोट । पोखराको पश्चिमी भूभागमा अविस्थत पुम्दीभुम्दीमा अहिले विशाल महादेवको मुर्ती पनि निर्माणाधिन अवस्थामा छ । जहाँबाट उत्तरतर्फ अन्नपूर्ण हिम श्रृंखला, फेवाताल र पोखराको पूरैजसो भूभाग देख्न सकिन्छ । साथै यो स्थानमा प्रशिद्ध विश्वशान्ति स्तूपा, र माछापुच्छ्रे भ्यू–प्वाइन्ट पनि रहेका छन् ।

पोखराबाट नजिकै मादी रुपा गाउँपालिकाको हंसपुरमा रहेको स्याकलुंकोट समुद्र सतहदेखी १४२० मिटरको उचाइमा रहेको चुचुरो हो। यसको वरिपरि रङ्गी विरङ्गी गुराँसले सिंगारिएको छ, उत्तरतर्फ नजिकै माछापुच्छे्र हिमाल र अन्नपूर्ण हिमश्रृंखला, पूर्वतर्फ सुन्दर मादी नदीको दृश्य, दक्षिणतर्फ महाभारत र चुरे श्रृंखला एवं पश्चिमतर्फ रुपा वेगनास उपत्यकाको दृश्य देख्न सकिन्छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको यस ठाउँमा सन् १९८० मा वेलायतका राजकुमार चाल्र्स पनि पुगेका थिए । यस ठाउँमा नेपाल पर्यटन वोर्ड समेतको सहयोगमा पर्यटकीय भ्यू–टावरको निर्माण समेत भएको छ ।

संग्रहालय

पोखरामा घुम्न र अध्ययनका लागि विभिन्न संग्रहालयहरु छन् । क्षेत्रीय संग्रहालय, अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालय, गोर्खा स्मृति संग्रहालय र अन्नपूर्ण संग्रहालय गरी ४ वटा संग्रहालय पर्यटकहरुका लागि आकर्षक गन्तव्य हुन् । यी संग्रहालयका आ–आफ्नै विशेषता र महत्व छ । गण्डकी प्रदेश क्षेत्रको जनजीवन, सामाजिक तथा साँस्कृतिक रहन सहन र भेषभूषासँग सम्वन्धित विविध पक्षहरुको चित्रण गर्ने किसिमका सामाग्रीहरु संकलन गरी सञ्चालन गरिएको क्षेत्रीय संग्रहालय पोखरा ८ नयाबजारमा रहेको छ । यो संग्रहालय वि.सं. २०४१ माघ २३ गते देखि सञ्चालनमा आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभाग अन्र्तगत सञ्चालित यो संग्राहलयमा पुरातात्विक महत्वका सामाग्रीहरु अवलोकन गर्न पाईन्छ ।

त्यस्तै पोखरा १७ रातोपैह्रोमा अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालय संग्रहालय अविस्थत छ । वि.सं. २०६० साल माघ २२ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यो संग्रहालय पूरै अवलोकन गर्न करिब १ दिन लाग्दछ । संसारका अग्ला पर्वतहरु तथा यसमा आरोहण गर्ने साहासी आरोहीहरुको ऐतिहासिक तथ्यहरु र यी पर्वतहरुको सेरोफेरोमा वसोवास गर्ने मानिसहरुको संस्कार, संस्कृति, भौगोलिक संरचना, वनस्पति तथा जीवजन्तु र अन्य क्रियाकलापहरु संग्रह गरिएको छ ।

स्वदेशी एवं विदेशी अवलोकनकर्तालाई जानकारी दिने उद्धेश्यले स्थापना गरिएको यस संग्रहालयमा मुख्य ४ वटा प्रदर्शनी कक्षहरुको व्यवस्था गरिएको छ। (१) विश्वकै पर्वतीय जनजीवन झल्काउने पर्वतीय मानकक्ष, (२) अन्र्तराष्ट्रिय पर्वतश्रंखला सम्वन्धी विविध जानकारी दिने पर्वतीय कक्ष, (३) पर्वतीय क्षेत्रमा हुने विविध गतिविधि झल्काउने पर्वतीय क्रियाकलाप कक्ष र (४) सहयोगी तथा समसामयिक कक्ष ।

पोखरामै रहेको घुम्नैपर्ने मध्ये अर्को हो पोखरा १६ दिपमा रहेको गोर्खा म्यूजियम । अर्थात गोरखा स्मृति संग्रहालय । विभिन्न देशका सैनिकमा भर्ती भई उनीहरुले विश्वमा देखाएको बहादुरी भल्कने र सोसँग सम्वन्धित वस्तुहरु राखेर यो संग्रहालय सञ्चालन गरिएको छ । पोखराको केआई सिंह पुल नजिकै यो संग्रहालय छ । यस संग्रहालयभित्र गोर्खाली सेनाहरुको इतिहास, उनीहरुले प्रयोग गरेका विविध वस्तुहरु, गोर्खाली सेनाहरुले प्राप्त गरेका उपलब्धिहरु संग्रह गरी राखिएको छ । संग्रहालयले विद्यार्थीहरु लगायत स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मनोरञ्जनका साथसाथै विभिन्न ज्ञान र जानकारी समेत दिने गर्दछ ।

त्यसैगरी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको हाताभित्र रहेको अन्नपूर्ण संग्रहालय पुतली संकलनमा नेपालकै पहिलो दर्जाको संग्रहालय हो । यस संग्रहालयमा ५०० भन्दा बढी किसिमका पुतलीहरुका प्रजाती रहेका छन्। यो संग्रहालय पुतली सम्वन्धमा रुचि राख्ने अनुसन्धानकर्ताहरु एवं अन्य पर्यटकहरुका लागि आकर्षक मानिन्छ ।

हिमाल अवलोकन तथा पदयात्राको द्वार पोखरा

पोखराबाट यहाँबाट देखिने हिमाल अवलोकन र छोटो तथा लामो पदयात्रा गर्न चाहनेहरुका लागि पनि पोखरा उपयुक्त गन्तव्य हो । पोखरा बजारबाटै दृश्यावलोकन गर्न सकिने सुन्दर माछापुच्छे्र हिमाल कास्कीको एउटा अत्यन्त महत्वपूर्ण पर्यटकीय स्थल हो । करिव ६९९७ मिटर उचाइमा रहेको यस सुन्दर हिमालको हालसम्म आरोहणमा प्रतिवन्ध लगाइको हुँदा यस हिमाललाई कुमारी हिमाल (भर्जिन माउण्टेन) पनि भन्ने गरिन्छ । सुन्दर माछापुच्छे्र हिमाल प्रष्टसँग खुल्दा पोखराबाट हिमालमा प्रष्ट रुपले बाघाकृति पनि देख्न सकिन्छ। पोखरा बजार छेउको रमणीय फेवातालको सङलो पानीमा पनि यस हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

त्यसैगरी ८०९१ मिटर उचाइमा रहेको यो हिमाल म्याग्दी तथा मनाङ जिल्लासँगको सीमानामा अवस्थित छ । यो आरोहणका लागि नेपाल सरकारले खुला गरेको हिमाल हो। विभिन्न आरोहण दलहरुले आरोहण गरिसकेको यस हिमालको आधार शिविरसम्म पुग्न पदमार्ग भने केही चुनौतीपूर्ण छ।

त्यसैगरी ७२१९ मिटर अग्लो अन्नपूर्ण दोश्रो हिमालपनि पोखराबाटै हेर्न सकिन्छ । साउथ अन्नपुर्ण समेत भनिने यो हिमाल आरोहणक लागि खुला गरिएको छ । पोखराबाट यस हिमालको आधार शिविरसम्म पैदल यात्रा गर्न सकिन्छ ।

 पोखरा आसपासका सुन्दर गाउँहरु

पोखरा आएर बसाई लम्ब्याउन चाहने पर्यटकहरुका लागि प्राकृतिक छटा र आतिथ्यताले भरिपूर्ण गाउँहरु, होमस्टेहरु पनि आकर्षक गन्तव्यहरु हुन् । पोखराबाट एक दिनकै यात्रामा घान्द्रुक, लान्द्रुक, सिक्लेस, ताङतिङ, भदौरे, भुर्जुङखोला, अस्ताम, धम्पुस, ल्वाङ घलेल लगायतका स्थानहरु पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्यहरु हुन् ।

यी गाउँहरु मध्ये घान्द्रुक धम्पुस र सिक्लेस पर्यटकको रोजाईमा पर्ने गर्छन् । अन्नपूर्ण र माछापुच्छे्र आधार शिविर जाने बाटोमा पर्ने घान्दु्रक गुरुङहरुको वस्ती हो । घान्द्रुकलाई ढुङ्गेनी गाउंपनि भनेर चिनिन्छ । उक्त गाउँ नेपालको सुविधा सम्पन्न गाउँ हो, जहाँ प्रशस्त मात्रामा होटल, लज, रिसोर्टहरु छन्। यस रमणीय गाउँको वस्ती, रहन–सहन, प्राकृतिक सौन्दर्यता, लगायतले विदेशमा यस गाउँको ठूलो प्रसिद्धि रहेको छ । समुन्द्र सतहबाट झण्डै १ हजार ९०० मिटरको उचाइमा रहेको घान्दु्रक नेपालमा ग्रामीण पर्यटनको नमूनाको केन्द्र पनि हो । घान्द्रुक नेपालको सबैभन्दा आकर्षक गाउँ पनि हो ।

त्यस्तै धम्पुस तथा लान्द्रुक पनि रमणीय ग्रामीण वस्ती हो । सूर्योदय, तथा हिमाली दृश्यावलोकनका लागि यी गाउँहरु प्रशिद्ध छन् । धम्पुस जानका लागि पोखराबाट धम्पुससम्म नै गाडीमा वा फेदीसम्म गाडीमा र फेदीबाट करीव २ घण्टा पैदलयात्रा गरेर धम्पुस तथा करिव ५ घण्टाको यात्रामा लान्दु्रक पुग्न सकिन्छ । यी दुवै माछापुच्छे्र तथा अन्नपूर्ण आधार शिविरतर्फ जाने पदयात्रा मार्गहरुमा पर्ने रमणीय स्थलहरु हुन् । यहाँ पर्यटकका लागि अत्याधुनिक होटलहरुको व्यवस्था छ ।

त्यसैगरी कास्कीको उत्तरपूर्वी भूभागमा लमजुङ सम्म सिमाना जोडीएको गाउँ हो सिकलेस । हिमालको काखमा रहेको यो गाउँ मादी गाउँपालिकामा अवस्थित छ । यस गाउँमा पनि गुरुङ जातीको बाहुल्यता छ । होमस्टेका लागि प्रख्यात रहेको यस गाउँमा गुरुङ जातिसँग सम्बन्धित भेषभूषा, हिमश्रृङ्खला र कास्कीका मनोरम स्थानहरुको दृश्यावलोकन गर्न सकिन्छ। एउटै शैलीका ६०० भन्दा बढी घरहरु रहेको यो स्थान नेपालको चर्चित गाउँभित्र पर्दछ ।

पोखराबाट नजिकै रहेको अर्को गाउँ हो भदौरे गाउँ । पञ्चासे क्षेत्र मा पर्ने यो गाउँ पनि निकै मनोरम छ । फेवातालको मुहान पनि भनेर चिनिने भदौरेमा होमस्टेको सुविधा छ । यहि गाउँको बाटो भएर संरक्षित क्षेत्र पञ्चासे पनि पुग्न सकिन्छ ।

पञ्चासेको लेकबाट धौलागिरी, माछापुच्छे्र, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाहरुको अनुपम दृश्यावलोकन गर्न सकिनुका साथै यहाँबाट स्याङ्जा, पर्वत जिल्ला, बागलुङ्ग, कास्की र फेवाताल, म्याग्दीका धेरै भागहरु समेत एउटै स्थानमा उभिएर देख्न सकिन्छ। त्यसो त यो क्षेत्र स्वयम्मा पनि ज्यादै मनोरम छ। संसारमै दुर्लभ प्रजातिका लालीगुँरास, सुनाखरी आदि यहाँका मौलिक विशेषताहरु हुन्। धार्मिक दृष्टिले समेत श्रवणकुमारसँग यसको चिनारी जोडिएको भनाइ रहेको पाइन्छ।

पोखरा महानगर क्षेत्र भित्र फूलबारीको महादेव मन्दिर, मासबारको पुश्करेश्वर शिव मन्दिर, काहुँ गा.वि.स.मा रहेको देउराली मन्दिर, चण्डि मन्दिर, राधाकृष्ण मन्दिर, सर्वेश्वर महादेव मन्दिर, कालिका मन्दिर, सन्तानेश्वर मन्दिर, मणी शिवालय मन्दिर, जयकोट बौद्ध मन्दिर, घान्द्रुकमा रहेको मेश्रमवराह, तौजी वराह, पोजनेव वराह, कोटडाँडा, हंसपुरमा रहेको लिप्यानी, रामकोट भूमिको स्थान, देउरालीको मन्दिर, औतारी माईको स्थान, सरस्वती मन्दिर चापाकोटमा रहेको पचभैया झाझी मन्दिर, देउराली मन्दिर, मकन्ना देउराली मन्दिर पनि पर्यटकीय गन्तव्य हुन् । सितापाईलामा अवस्थित हरिहर मन्दिर, प्राकृतिक पुल, ऐतिहासिक ढुङ्गेसाँघु पनि निकै महत्वपूर्ण गन्तव्य हुन् ।

त्यस्तै कास्कीको भाचोकमा रहेको चेपाङ छेर्वाग गुम्बा, रिभानमा रहेको शिवालय मन्दिर, सिद्धवराह गुठी मन्दिर, लाहाचोकमा रहेको अर्मलाकोट मन्दिर, हेम्जामा रहेको ऋषिकुल आश्रम, टेब्रिकोट रुद्र महादेव गुठी मन्दिर, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, आर्वाविजयमा रहेको प्रजु बसेको स्थान रतन पाण्डेको मन्दिर, सुनपदाली शिवालय मन्दिर पनि धार्मिक एवं पर्यटकीय दृष्टिले अनुपम मानिन्छन्।

त्यस्तै चाण्डेको स्थान ढिकुरपोखरीमा रहेको पाउँदुरकोट सार्दीखोलामा रहेको भुर्जुङखोला उपत्यका, हिलटप, घान्द्रुककै माछापुच्छ्रे तथा अन्नपूर्ण बेसक्याम्प, सैमराङको लम्तरी लेक, सिल्दुजुरेको घडेरी, लाहाचोकको पानीखोला गुफा, आर्वाविजय मा पर्ने झुप्पीको चौतारा, मडी, ढिकुरपोखरीको नाउडाँडा भ्यू–टप, चाकलडाँडा, लेखनाथको कन्दनी डाँडा, सुन्दरीडाँडा, ल्वाङघलेल क्षेत्र आदि स्थलहरु पनि पर्यटकीय स्थलको रुपमा रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.