www.tandavnews.com
Fact ~ In search of truth

प्रसिद्ध तीर्थस्थल पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

फुङ्लिङ

दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् ।

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त संख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् । कोरोना भाइरस संक्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

Batas

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ । यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । दसैँपछि अहिले पनि पाथीभरामा भक्तजन आउने क्रम जारी रहेको समितिले जनाएको छ ।

पाथीभरा दर्शनका लागि दसैँ, तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देशविदेशबाट उल्लेख्यरूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्दछन् । गत वर्षको दसैँ, तिहारमा भने कोभिड–१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष संक्रमणको अवस्था न्यून रहेकाले मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरा दर्शन खुला गरिएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.