www.tandavnews.com
Fact ~ In search of truth

एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्छः अध्यक्ष ओली

काठमाडौं

नेकपा ‘एमाले’ का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताएका छन् ।

पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नो पार्टी र माधवकुमार नेपालले फरक ढंगले अलग भएपछि एमाले पार्टी नयाँ ढंगले अगाडि बढेको बताए । उनले भने, ‘पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।’

Batas

अध्यक्ष ओलीले विगत डेढ वर्षदेखि पार्टीभित्र अत्यन्त गम्भीर समस्या देखिएको उल्लेख गर्दै पार्टीबाट केही समूह अलग भएपछि अहिले ती समस्या आफैँ समाधान भएको बताए । ‘पार्टीमा केही समयअगाडिदेखि आन्तरिक विषयलाई बाहिर लगेर छर्ने र विरोधीलाई उत्साहित बनाउने काम भइरहेको थियो,’ उनले भने, ‘हामीले प्राप्त गरेको लोकतन्त्र र संविधानको रक्षा तथा विकासका प्रयासमा व्यवधान पुर्याउने, देशलाई गम्भीर घाटा र प्रतिगमनमा सहयोग पुर्याउने काम भएको थियो । तर पार्टीबाट केही मानिस छोडेर अलग पार्टी बनाएपछि अब पार्टी एक ढिक्का भएको छ ।’

अध्यक्ष ओलीले पार्टीविरुद्धको आन्तरिक र बाह्य साँठगाँठले पार्टी सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै प्रथम विधान महाधिवेशनले राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेपछि पार्टीलाई थप उर्जा प्राप्त भएको बताए । उनले बाढीपहिरोमा परेकालाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दै बालीनाली नोक्सानले किसानको जनजीवनमा असहजता पैदा भएको र घाइतेको उपचारमा ढिलासुस्ती नगरी जनतालाई राहत सुविधा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

वडा कमिटी आधारभूत कमिटी भएको र जननिर्वाचित प्रतिनिधिको कार्यथलोका रुपमा रहेको बताउँदै उनले जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले वडा कमिटीको बेग्लै महत्व रहेको उल्लेख गरे । ‘वडा कमिटी नेतृत्व विकास, कार्यदक्षता र समावेशी सन्दर्भमा यी अधिवेशनको विशेष महत्व रहेको छ,’ उनले भने ।

अध्यक्ष ओलीले एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्नुपर्ने धारणा राखेका थिए । उनले समृद्धि नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्ने हिसाबले नमूनाका रुपमा पार्टी अगाडि बढ्नुपर्ने बताए । ‘लोकतन्त्र भनेको कस्तो हुन्छ र कसरी अभ्यास गर्नुपर्दछ’, उनले भने, ‘सत्ता र प्रतिपक्षको भूमिका, राजनीतिक दल र तिनका जनवर्गीय संगठनको भूमिका कस्तो हुनुपर्दछ । राज्य र राज्यको अंगको भूमिका कस्तो हुनुपर्दछ । त्यसले लोकतन्त्रको सही व्यख्याका साथ अगाडि बढउनुपर्दछ ।’

अध्यक्ष ओलीले पार्टीले स्वच्छता र पारदर्शिता जस्ता कुरा अँगाल्नुपर्नेमा जोड दिँदै एमालेले लोकतन्त्रलाई भन्ने कुरा र अपनाउने कुरालाई फरक नमान्ने बताए । ‘हामी लोकतन्त्रलाई अर्कै स्वच्छचारिता मान्दैनौँ’, उनले भने, ‘लोकतन्त्र विधि र कानुनको शासन हो । त्यो विधि र रीति पुर्याउने कुरा जीवन्त ढंगले पालना गर्नुपर्दछ ।’ उनले लोकतान्त्रिक प्रणालीमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘प्रतिस्पर्धा अस्वच्छ होइन, स्वच्छ हुनुपर्दछ । जालझेल कपट होइन । राज्यका अंगको अनुचित दुरुपयोग गरेर होइन,’ उनले भने, ‘सबैको सदुपयोग गरेर मात्र लोकतन्त्रको मूल्यमान्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्दछ ।’

अध्यक्ष ओलीले चारैतिरबाट पार्टीको उद्देश्य र आन्दोलनलाई हमला भइरहेको र त्यसको प्रवाह राष्ट्रको समुन्नत उज्ज्वल भविष्यमाथि परिरहेको उल्लेख गर्दै छलकपटपूर्ण हमला बाबजुद पनि सबै ठाउँमा पार्टी मजबुद रहेको दाबी गरेका छन् । ‘हामी संसद् र एउटा प्रदेशबाहेक अरूभन्दा ठूलो शक्तिमा छौँ । स्थानीय तहमा पनि ठूलो नै छौँ । हाम्रो गणना एक नम्बरमा नै हो । राजनीतिक, वैचारिक ढंगले हामी देशको ठूलो पार्टी हौं’, उनले भने । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउने तयारीमा रहेको बताए ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज देशभरि करिब ६ हजार ५ सय वडामा वडा कमिटी अधिवेशन गर्दैछ । यस्तै यही कात्तिक ९ गते स्थानीय तहको अधिवेशन गरिने कार्यतालिका रहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.