www.tandavnews.com
Fact ~ In search of truth

एमाले महाधिवेशनः उद्घाटन नारायणी किनारमा, बन्द सत्र सौराहामा हुने

उद्घाटन सत्रमा ५ लाखभन्दा बढी जनसहभागिता हुने

नारायण अधिकारी

नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले २ स्थान सिफारिस गरेको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताए । उनले भनिन्, ‘महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।’

Batas

उद्घाटन सत्रमा ५ लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ । सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताइन् ।

यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उनले बताइन् । उनले भनिन्, ‘महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दैछौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ ।’

अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो ।

यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ । व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन् । यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.