www.tandavnews.com
Fact ~ In search of truth

जुम्लाः विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

खलंगा

जुम्लाको तातोपानी गाउँपालिका- ४ स्थित नेत्रज्योति मावि ‘हाँकु विद्यालय’ वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।

अहिले विद्यालयमा गिट्टी र ढुंगा थुप्रिएको छ । कोरोना संक्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो । तर यही कात्तिक १ गतेदेखि परेको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले विद्यालय नै बगाएकाले पठनपाठन ठप्प भएको विद्यालयका विद्यार्थी बताउँछन् ।

Batas

विद्यालय असोज ३० गतेदेखि सञ्चालन गरिएकामा कात्तिक १ गतेको बाढीले सबै बगायो । उक्त विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भने, ‘विद्यालय बगर बनेको छ । पठनपाठन सञ्चालन गर्न कठिन छ । बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ । बगाउन नसकेका केही भवनमा पनि तत्काल कक्षा सञ्चालन गर्न पनि नसकिने अवस्था छ ।’

उनका अनुसार विद्यालयको कक्षा कोठामा बालुवा थुप्रिएको छ भने झ्याल, ढोका फुटेका छन् । उलने भने, ‘डेस्क–बेञ्च छैनन् । तत्काल मर्मत गर्न सकेमा ६ कोठामा विद्यार्थीलाई पढाउन सकिन्छ ।’ विद्यालय बगर बनेपछि विद्यार्थी पढ्नसमेत डराइरहेको उनको भनाइ छ । ‘सामान्य वर्षा हुने बित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था रहेन । अहिले विद्यालयमा अध्ययनरत ६९४ विद्यार्थी अलपत्र छन् ‘ उनले भने ।

विद्यालयको ६५० वर्गमिटर घेरबारको कुनै निसाना नरहेको उनको भनाइ छ । विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि बढाउनका लागि कार्यक्रम सुरु भइसकेको थियो । रु १ करोड ५० लाखमा २ पक्की भवन निर्माण हुँदै थिए । यो शैक्षिकसत्रदेखि नमूना विद्यालय बनाउने योजना थियो । ‘डिजिटल प्रविधि अपनाएर जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने गतिमा काम भइरहेको थियो’, प्रधानाध्यापक न्यौपानेले भने, ‘न विद्यालय नमूना बनाउन सकियो न त बाढीबाट बचाउनै सकियो । फेरि सुरुदेखि काम प्रारम्भ गर्नुपर्ने भयो ।’

उनका अनुसार बाढीले विद्यालयको भवन, घेराबार, खेलकूद मैदान, स्टोर गरेर राखेका डेस्क बेञ्च, नयाँ विद्यालय बनाउन राखिएको फर्निचर, सरिया ३ बण्डल, भवन निर्माणका लागि राखिएको काठ, शौचालय, मञ्च सबै बगाएको छ । बाढीले रु १ करोड ६६ लाख ३५ हजार बराबरको मालसामानमा क्षति पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ ।

बाढीले जिल्लाको तातोपानी- ७ र तिला गाउँपालिकाको सेतीबाडा रहेको विद्यालय पनि डुबाएको छ । बाढीले क्षति पुर्‍याएको विद्यालयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले अनुगमन गरेका थिए । अनुगमनपश्चात् उनले भने, ‘विद्यालयलाई पहिलेकै अवस्थामा सञ्चालन गर्न सबै निकायको साथ अनिवार्य रहेको छ । तत्काल विद्यालय मर्मत गरेर भए पनि पठनपाठन सञ्चालन गर्न यहाँका सरोकार निकायले पनि ध्यान दिनुपर्ने भएको छ।’

शान्ति पूर्णरुपमा र भयरहित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन यहाँका विद्यार्थीले माग गरेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.