www.tandavnews.com
Fact ~ In search of truth

बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने

मकवानपुर

बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । आवश्यक कर्मचारीसमेत खटाइएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिइन् । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।

Batas

नेकपा ‘माओवादी केन्द्र’, नेपाली कांग्रेस, नेकपा ‘एकीकृत समाजवादी’ र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन् ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने उनले बताए । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा ‘एमाले’ का ४३, प्रमुख प्रतिपक्ष नेकपा ‘माओवादी केन्द्र’ का २३, नेपाली कांग्रेसका २२, नेकपा ‘एकीकृत समाजवादी’ का १३, विवेकशील साझा दलका ३, नेपाल मजदुर किसान पार्टी ‘नेमकिपा’ र राप्रपाका दुई÷दुई तथा जनता समाजवादी पार्टी ‘जसपा’ का एक प्रदेशसभा सदस्य छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.