www.tandavnews.com
Fact ~ In search of truth

मादीका बाढी पीडितलाई गण्डकी प्रदेश सरकारको राहत

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १, सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् ।

असार १ गते मादी नदीमा आएको बाढीले घरबाट पूर्ण क्षति पु¥याएका ११ घर परिवारलाई जनही १ लाख रुपैयाँका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरेका हुन् । बाढी पहिरोले घर पूर्ण क्षति पुर्याउनेहरुलाई मनाङको हकमा २ लाख र अरु जिल्लाका हकमा १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो । भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ, दूधराज गुरुङलाई उक्त अवसरमा राहत प्रदान गरिएको हो ।

Batas

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुखदुखमा सँधै साथमा रहेको बताए । उनले भने, ‘३ तहका सरकारका आआफ्नै दायित्व र अधिकार क्षेत्र छन्, प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर छ ।’ आफू सरकारको नेतृत्वमा आएलगत्तै बाढीपहिरोको प्रकोप सुरु भएको स्मरण गर्दैै उनले पीडितलाई तत्काल राहत प्रदान गर्नेदेखि स्थायी रुपमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भनाए राखे ।

बाढीपहिरोले मादीमा धेरै क्षति भएको आफूले देखिसकेको भन्दै उनले बाढी लगत्तै बाटोघाटो खुलाउनका लागि केही रकम प्रदान गरेको र अब पनि थप रकमका लागि पहल गर्ने प्रतिबद्धता जनाए । विकास र सहयोगका काममा कसैले पनि राजनीति गर्न नहुने उनले बताए । चुनाव लड्ने बेलामा आफ्ना राजनीतिक एजेन्डा राख्ने कुरा स्वाभाविक भए पनि चुनाव जितेपछि नागरिककै सेवामा प्रतिबद्ध रहनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ती आएको भन्दै यी विपत्तीलाई सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताए । बाढीले क्षति पु¥याएका संरचनाको पुनर्निर्माण र बाटोघाटोको प्रवन्धका लागि उनले ध्यानाकर्षण गराए । असारको सुरुमै सिक्लेसको पहिरोले परी भेडीगोठमा क्षति पुगेको भन्दै राहतको लागि प्रदेश सरकारसँग आग्रह गरे ।

गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताइन् । समस्याको दीर्घकालीन रुपमा समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाइन् । संविधान सभा सदस्य तेजकुमारी पौडेलले बाढीले क्षति पुर्याएपछि आफूहरु स्थलगत अनुगमनमा पुगेको र राहतका लागि पहल गरेको उल्लेख गरिन् ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रक्रिया पूरा गर्ने क्रममा राहत वितरण गर्न केही ढिलाइ भएको बताए । बाढीपहिरोले घर पूर्ण क्षति पुर्याउनेका हकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउने भएकाले यसका लागि जनप्रतिनिधिले पहल गरिदिन आग्रह गरे ।

उक्त अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी गाउँपालिका १ का वडाध्यक्ष सुरज गुरुङ, वडा नम्बर ७ का वडाध्यक्ष लालबहादुर गुरुङलगायतले बोलेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.