www.tandavnews.com
Fact ~ In search of truth

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइनेः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिएका हुन् । ‘१२ वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो ‘अन्तिम’ चरणको परीक्षण भइरहेको छ’, उनले भने, ‘तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौं ।’

Batas

भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ । अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई १ लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिए । ‘हामी खोपका लागि पैसा पनि तिरिसकेका छौँ’, उनले भने, ‘चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।’ ती दुवै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । उनले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाएका छन् । ‘यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए’, उनले भने, ‘तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिन्न ।’

मन्त्री खतिवडाले कोरोना भाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताए । ‘केही अस्पतालले ३ दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष ‘आइसीयू’ र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो’, उनले भने, ‘रु १० हजारको बिल बढाएर अस्पतालले रु ९० हजार पनि पुर्याएको पाइयो । त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ ।’

मन्त्री खतिवडाले केही औषधिमा औषधि उत्पादक संघले मनोमानीरूपमा पैसा बढाएको भन्ने गुनासो आएकाले सत्यतथ्य बुझ्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क बनाउने आफूले प्रयास गर्नेसमेत बताए । ‘अहिले लोपोन्मुख र अल्पसंख्यकलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने प्रयास रहेको छु’, उनले भने, ‘लोपोन्मुख र अल्पसंख्यकलाई निःशुल्क गराए विस्तारै अन्य वर्गलाई पनि निःशुल्क स्वास्थ्य बिमा गराउन सकिन्छ ।’ स्वास्थ्य बिमा कार्यक्रममा प्रतिपरिवारले वार्षिक रु ३ हजार ५०० को बिमा गरे रु १ लाखसम्म निःशुल्क उपचार गर्न पाइन्छ ।

मन्त्री खतिवडाले सबैलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने दृढता व्यक्त गरेका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.