www.tandavnews.com
Fact ~ In search of truth

महाकाली डुङ्गा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

बैतडी ।

महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।

सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।

Batas

डुङ्गा दुर्घटनामा परी मृत्यु भएका शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने भारतमै अन्तेष्टि गरिएको छ । बिहीबार बिहान महाकाली नदीको पारि भारतमा मीनाको शव फेला परेको थियो । महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको बिहीबार भारतमै आफन्तले अन्तेष्टि गरेको प्रहरीले जनाएको छ ।

दश जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडेर बाँच्न भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए । दसैँंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले बुधबार साँझ भारततिर जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको हो ।

महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन् । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका र भारत आवतजावत गर्दा पुल नहुँदा त्यहाँका बासिन्दा महाकाली नदीमा डुङ्गाको सहयताले वारिपारि जाने गर्दछन् ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.