www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरका होटल तथा रेष्टुराँको स्तरीकरण

दमौली, कृष्ण न्यौपाने

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बन्दीपुरमा सञ्चालित होटल तथा रेष्टुराँको वर्गीकरण गरेको छ । होटल रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले ती क्षेत्रमा सञ्चालित १४ होटलको वर्गीकरण गरेको हो ।

कार्यलयका प्रमुख प्रशान्त पोख्रेलले होटल रेष्टुराँमा २ तारासहित उत्तम ‘ख’ स्टीकर टाँस गरिएको जानकारी दिए । कार्यलयले यसअघि दमौली, आँबुखैरेनीलगायतका होटल तथा रेष्टुराँको स्तरीकरण गरिसकेको छ । उनका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्यांकनको आधार बनाइनेछ ।

Batas

वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अंक ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम ‘सन्तोषजनक’ र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउने छन् । अतिउत्तम श्रेणीको होटल रेष्टुराँले ३ वटा तारा र ‘क’ सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगो पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ ।

त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले २ वटा तारा र ‘ख’ सहित उत्तम लेखिएको हरियो स्टिकर पाउने छन् । यस्तो लोगो पाउन ८० भन्दामाथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी ‘सन्तोषजनक’ का लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुराँले एउटा तारा र ‘ग’ सहित सन्तोषजनक लेखिएको हरियो स्टीकर पाउने छन् । सामान्य श्रेणीको लोगोमा ‘घ’ सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउन योग्य पानीको व्यवस्थालगायत पनि मूल्यांकन मापदण्डमा उल्लेख छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.