www.tandavnews.com
Fact ~ In search of truth

तिहारमा फूलको बहारः पोखरामा करिब ३ करोडको हुदैँछ कारोबार, डेढ सयसम्म पर्नेछ माला

जीवन सुवेदी
ताण्डव न्यूज ।

पोखरामा पुष्प व्यवसायले गति लिँदै गएपनि सरकारले भने व्यवसायीलाई सम्बोधन गर्न नसकेको फूल व्यवसायीले गुनासो गरेका छन् । फूलको व्यवसाय र बजार प्रवर्धनका लागि सरकारी तवरबाट जग्गाको व्यवस्थापन, आर्थिक, भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके फूल खेती गर्ने कृषकलाई सहज हुने उनीहरुको भनाई छ ।

ताण्डव न्यूजसँग कुरा गर्दै फ्लोरिकल्चर एशोसियशन नेपाल कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले सरकारले व्यवसायीहरुलाई विउविजन समेत उपलब्ध गराउन नसकेको गुनासो गरे । “सरकारले अरु सहयोग त परै जाओस् विउविजन समेत उपलब्ध गराएको छैन” उनले भने “फूलको विउ हामीले थाईल्याण्ड, होल्याण्ड, अमेरिका लगायतका देशहरुबाट ल्याउनुपर्छ ।”

Batas

सयपत्री, गोदावरी, मखमलीमात्र होईन अरु १५० प्रजातिका फूलहरु पोखरामा नर्सरी तयार पारेर उत्पादन गरिने गुरुङले बताए । विशेषगरी सजावट तथा ईन्डोर प्लाण्ट अन्र्तगत समेत विभिन्न प्रजातिका फूलहरुको प्रयोग बढ्दै गएको उनले बताए । तिहारमा मात्र नभई अरु समयमा पनी फूलप्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ । पोखरामा अहिले फूल्ने प्रजातिका १५० सहित ४०० भन्दा बढि प्रजातीका फूल उत्पादन हुन्छन् ।

अध्यक्ष गुरुङले दिएको जानकारी अनुसार ३५ देखि ४० व्यवसायीले पूर्ण रुपमा पुष्प व्यवसाय गर्दै आएका छन् । उनका अनुसार पोखरामा तिहारको बेलामा करिब ३ करोडको फूल विक्री वितरण हुन्छ ।

पोखरामा खपत गरिने मध्ये ८० प्रतिशत फूलको उत्पादन गण्डकी प्रदेशकै विभिन्न जिल्लामा हुने गरेको पुष्प व्यवसायी एवं फ्लोरिकल्चर एसोसियसन कास्कीका संस्थापक अध्यक्ष बसन्त बानियाले बताए । फूलप्रति रुचि राख्ने बढेसँगै फूलको व्यापार गर्नेहरू पनि बढेको उनको भनाई छ ।

अहिले कास्की, स्याङ्जा, पर्वत, तनहुँको फूलको बजार समेत पोखरा भएको बताउँदै उनले स्वदेशी फूल निकै गुणस्तरीय हुने भएकाले पनि माग बढ्दै गएको बताए । “भारतीय फूल भन्दा नेपाली सयपत्री फूलको थुंगा पनि ठूलो हुन्छ, बास्नादारपनि हुन्छ, केमिकल प्रयोग नगरीने भएकाले यसले स्वास्थ्यलाई पनि असर गर्दैन” बानियाले भने । तिहारमा दिदीबहिनीले दाजुभाईलाई लगाईदिने माला मध्ये धेरैजसोको रोजाई सयपत्री नै भएको उनले बताए । पहिले पहिलेजस्तो प्लाष्टिकका मालाहरु लगाउने प्रचलन हट्दै गएको भन्दै बानियाँले पोखरामा एउटा मालाको अधिकतम मुल्य १६० भन्दा बढी नपर्ने बताए ।

नेपालमा सरकारी तवरबाट फूलको अनुसन्धान र उत्पादनका लागि ललितपुरमा पुष्प विकास केन्द्र सञ्चालनमा छ । तर गण्डकी प्रदेशमा भने फूल खेतीका लागि मात्र विकाश केन्द्र छैन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.