www.tandavnews.com
Fact ~ In search of truth

रष्ट्रपति भण्डारीको मनाङ सेडुअलः स्याउ फार्म र बाढी प्रभावित क्षेत्रको अवलोकन

नवीन लामिछाने
मनाङ, रासस ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छिन् । अवलोकन भ्रमणका लागि उनी मनाङ आउन लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए ।

मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नेछिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने प्रजिअ आचार्यले जानकारी दिए । जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएकाे छ ।

Batas

यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संंरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन् ।

बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ । त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ ।

आज राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.