www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डकाे दाबीः ‘ओलीले ज्ञानेन्द्रका मान्छेसँग मौका आए गणतन्त्र उल्ट्याउने भनेको सूचना पाएँ’

पोखरा, ताण्डव न्यूज

नेकपा ‘माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन् । सोमबार पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो ।’ उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए ।

साथै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली परिवर्तन उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग ओलीले भेटेर यस्तो कुरा गरेको सूचना आफूले पाएको दाबी गरेका छन् । ‘उनले भन्थे सधैँ मलाई यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन,’ प्रचण्डले भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भने भन्ने सूचना मैले पाएँ । मलाई जिन्दगीभरी मन परेको होइन, बाध्य भएर स्वीकार गरेको हो । त्यसकरण मौका आयो भने उल्ट्याउने हो भनेर भनेछन् । तपाईंहरू विचार गर्नुहोला स्थिति कहाँसम्म पुग्या रहेछ ।’

Batas

प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको र त्यसविरुद्ध आफूहरूले संघर्ष गरेको प्रचण्डको भनाइ छ । नेकपामा आफूहरूले हारेको नभइ जितेको प्रचण्डले जिकिर गरे । त्यसबेला २५ प्रतिशतमा ओली र आफूहरू ७५ प्रतिशतमा भएको उनको दाबी थियो ।

उनले भने, ‘कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यसकारण सपना देख्नु जायज हो ।’ अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि संघर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताए । उनले भने, ‘हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन् ।’ आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गरेर जाने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.