www.tandavnews.com
Fact ~ In search of truth

आन्तरिक राजस्व कार्यालय बागलुङद्धारा आफ्नो लक्ष्यभन्दा बढी राजस्व संकलन

कर संकलन ३३ प्रतिशत बढी

बलेवा

आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व संकलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताए ।

‘‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’, नेपालले भने, ‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ । कार्यालयले गत असोज महिनामा मात्रै १ करोड ७० लाख आयकर संकलन गर्ने लक्ष्य राखेको थियो । तर उक्त महिनामा ३ करोड ६८ लाख आयकर संकलन भएको नेपालले जानकारी दिए । असोज महिनासम्म रु ५ करोड ८३ लाख आयकर संकलन गर्ने लक्ष्यमा १९ प्रतिशत प्रगति गरेर ११ करोड ६१ लाख कर संकलन गर्न सफल भएको हो ।

Batas

त्यस्तै घरबहाल करतर्फ भने कर संकलनमा कमी भएको छ । रु १४ लाख संकलन गर्ने भनिएकोमा असोजमा ३ लाख ६५ हजारमात्रै संकलन भएको छ । असोज मसान्तसम्ममा रु ५ करोड ८६ लाख संकलन गर्ने भनिएकोमा पनि सो पूरा नभइ ३ करोड ९ लाखमात्रै कर संकलन भएको छ । भ्याटतर्फ २६ करोड संकलन गर्ने भनिएकोमा ५६ प्रतिशतमात्रै पूरा भएको थियो ।

त्यसमा रु १४ करोड ९६ लाख मात्रै संकलन भएको हो । असोज मसान्तसम्ममा भने लक्ष्य पूरा भएको छ । ९ करोड ३ लाख संकलन गर्नेमा ९४ करोड ९१ लाख संकलन गरेर १० प्रतिशत प्रगति गरेको नेपालले बताए । त्यसबाहेक कार्यालयले अन्तशुल्क, शिक्षा तथा स्वास्थ्य करलगायत पनि संकलन गर्ने गरेको छ ।

बागलुङमा भने चालू वर्ष शिक्षा स्वास्थ्य कर संकलन भएको छैन । अन्तशुल्कतर्फ रु २ करोड ६५ लाख लक्ष्य रहेको असोजमा ३ करोड ६६ लाख र असोज मसान्तसम्ममा रु ८ करोड ३८ लाखको लक्ष्यमा १८ प्रतिशत प्रगति गरेर रु १५ करोड १ लाख कर संकलन भएको छ । सबै शीर्षकमा गरी असोज मसान्तसम्ममा १९ करोड २५ लाख कर संकलन गर्ने लक्ष्यमा कार्यालयले १३ प्रतिशत प्रगती गरेर २५ करोड ७१ लख ६५ हजार कर संकलन गर्न सफल भएको हो ।

पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि मात्रै बागलुङसहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि सुरु भएको छ । अहिले बागलुङ कार्यालयमार्फत १७ हजार बढीले कर तिर्ने गरेका छन् । केही समयअघि कार्यालयले पर्वतमा पनि करदाता सेवा कार्यालय स्थापना गरेको छ ।

उक्त कार्यालयमार्फत पर्वतका कारदाताले कर तिर्ने गरेका छन् । सीमित जनशक्ती भए पनि करदाताले आफ्नो कर्तव्य सम्झेर कर तिर्ने लहर चल्न थालेपछि भने कार्यालयले हरेक वर्ष लक्ष्य भन्दा बढी कर संकलन गरेर प्रगतिसमेत देखाउन थालेको छ । पछिल्लो समय कार्यालयबाट प्यान नम्बर लिने र रोजगार भएका र मजदूरी गर्नेले समेत आफ्नो कमाइको १ प्रतिशत कर तिर्न थालिसकेका छन् । नेपाल सरकारले ल्याएको प्यान नम्बरबाट राज्यलाई योगदान गर्ने नीतिले देशकै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आएको अधिकारीको भनाइ छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.