www.tandavnews.com
Fact ~ In search of truth

वालुङ समुदायले ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै

फुङ्लिङ

सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी ‘लक्ष्मी पूजा’ का दिनसम्म मानाइने यो पर्वको रौनक ओलाङचुगोलामा मात्र देखिन्छ ।

वालुङ ‘भोटे’ समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको यो मौलिक सांस्कृतिक पर्व परापूर्वकालदेखि नै धुमधामसँग मनाउने गरिएकामा कोरोना संक्रमणका कारण अघिल्लो वर्ष औपचारिकतामै सीमित भएको त्यहाँका वडाध्यक्ष छेतेन भोटे ‘वालुङ’ ले बताए । १० दिनसम्म मनाइने यस मौलिक पर्वमा पाहुनाहरुका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा आएका छन् ।

Batas

यस पर्वमा सुरुदेखि अन्तिमसम्ममा कम्तीमा १५ लामाले बौद्ध धर्मसंस्कारअनुसार पूजापाठ गर्ने स्थानीय यांमानुर्पु शेर्पाले बताए । पर्वको अवधिभर हरेक दिनको मध्यरात लामाले पूजापाठ गर्नाका साथै देव नृत्यसमेत देखाउने गर्दछन् । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्दा त्यहाँबाट निस्केको घ्यू र तेलको धुवाँले गुम्बाको धुरी नाघेमा शुभ हुने धार्मिक विश्वास गरिन्छ ।

फुटुक पर्वको पछिल्लो ४ दिनलाई विशेष दिनका रुपमा लिइन्छ भने प्रत्येक रात देवनृत्य ‘देवता नाच’ प्रदर्शनसहित पूजा समापन गरिन्छ । स्थानीयवासीका अनुसार पर्वमा सहभागी लामाहरुले देवता र राक्षसको मुखुन्डो लगाएर दुबै पक्ष बीचको युद्धको अभिनय गरी नृत्य देखाउने गरिन्छ । पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बसेका छन् । ओलाङचुङगोलामा साढे ४ सय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ ।

गत वर्ष कोरोना महामारीको समयमा पनि यो पर्व मनाइएकामा उत्तरी नाका बन्द गरिएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाहुना आउन सकेका थिएनन् । यो वर्ष फुटुकमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुनाका रुपमा सहभागी भएको स्थानीयवासी बताउँछन् ।

यस पर्वको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले आर्थिक सहयोगसमेत गर्दै आएको छ । सीमान्तकृत समुदायको यो पर्वको जगेर्नाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले बताए ।समुद्र सतहदेखि ३ हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङचुङगोलामा एकमात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । यहाँ हाल वालुङहरु ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने जिल्लाकै उच्च बस्ती यांमा ‘४,२०० मिटर’ मा ११ परिवार बसोबास गर्दै आएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.