www.tandavnews.com
Fact ~ In search of truth

उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोको प्रयोग गर्नुस्, चाहिएजति बिजुली बालनुस्

काठमाडौँ, रमेश लम्साल

ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

प्राधिकरणले कम क्षमताको फ्युजलाई विस्थापन गर्न कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिँदै ग्यासको तुलनामा अहिले पनि बिजुलीमा खाना पकाउँदा न्यूनतम ४० प्रतिशत सस्तो पर्ने जानकारी दिएको छ । नेपाल आयल निगमको विवरणअनुसार वार्षिक रु ४० अर्ब बराबरको खाना पकाउने ग्यास आयात हुने गरेको छ । मोटो रकम विदेशिएको भन्दै प्राधिकरणले त्यसका लागि आवश्यक पर्ने वितरण लाइन, ट्रान्सफर्मर तथा अन्य प्राविधिक तयारीसमेत भएको जनाएको छ ।

Batas

प्राधिकरणका आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘इन्डक्सन चुलोको प्रयोगलाई मात्रै बढाउन सके ठूलो मात्रामा विदेश गएको पैसा देशभित्रै राख्न सकिन्छ । त्यसका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काम भइरहेको छ ।’ प्रणालीमा यथेष्ट मात्रामा बिजुली उपलब्ध भएको भन्दै अब कुनै पनि चिन्ता नलिइकन खपत गर्नसमेत उनले आग्रह गरे । घरघरमा जडान गरिएको ५, १० र १५ एम्पियरको फ्युजको क्षमता बढाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तै, १०० देखि १५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले पनि ग्यासको तुलनामा ४० प्रतिशत कम पर्ने गरी महशुल तिर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

आमरुपमा बिजुलीको खपत बढोस् भन्ने ध्येयका साथ नै प्राधिकरणले महशुलदेखि अन्य प्राविधिक तयारी समेत गरेको उनको भनाइ छ । प्राधिकरणको प्रणालीमा २ हजार मेगावाट बढी बिजुली जोडिएको छ । चालु आवमा झण्डै १ हजार मेगावाट बिजुली थप हुने प्रक्षेपण छ । तोकिएअनुसार काम भएको खण्डमा प्राधिकरणको प्रणालीमा हाल उपलब्ध भएको भन्दा झण्डै दोब्बर बिजुली उपलब्ध हुन २ वर्षमात्रै लाग्ने देखिन्छ । यसले पनि बिजुलीको खपत बढाउनै पर्ने बाध्यता आइपरेको प्राधिकरणको भनाइ छ ।

यस्तै, पछिल्ला दिनमा विद्युतीय सवारी साधनप्रति आम मानिसको चासो बढेको छ । भन्सार विभागका अनुसार विद्युतीय सवारी आयात अघिल्लो वर्षहरुको तुलनामा बढेको छ । यस्तै, सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारी साधन नै खरिद गर्ने निर्णय गरेको छ । यसले पनि बिजुलीको खपत बढाउन सहयोग पुग्नेछ । विद्युतीय सवारीका लागि चार्ज गर्दा प्रतियुनिट रु ५ देखि रु ६ सम्म लाग्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले आफैँ पनि देशभर तत्काल ५० चार्जिङ स्टेशन निर्माण गर्न लागिपरेको छ । दीर्घकालीन रुपमा देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ । निजी क्षेत्रले पनि आक्रामक रुपमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । विद्युतीय सवारी साधनको आयात समेत बढेको, चार्जिङ स्टेशनसमेत बढेकाले बिजुलीको खपत बढ्नेमा प्राधिकरण ढुक्क देखिएको छ ।

बिजुलीको खपत बढाउनका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यसचिवदेखि सरोकारवाला निकायका बीचमा छलफल तथा गृहकार्य भइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक कुलमान घिसिङले सार्थक प्रयासले मात्रै सकारात्मक नतिजा निकाल्ने बताए ।

चाहिएजति बिजुली बालनुस्

दीपावलीको अवसरमा चाहिए जति बिजुली खपत गर्न समेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । बत्ती नै बत्तीको पर्वको रुपमा रहेको दीपावलीलाई थप उज्यालो बनाउन विगतका वर्षहरुदेखि नै प्राधिकरणले साथ र सहयोग गरेको तथ्य पेश गर्दै कार्यकारी निर्देशक घिसिङले सबै प्रकारको प्राविधिक तयारी गरिएको बताए ।

सबै वितरण केन्द्र तथा शाखालाई सोहीअनुसार निर्देशन दिइएको र कुनै पनि स्थानमा समस्या आउन नदिन जनशक्ति परिचालन गरिएको उनको भनाइ छ । ‘कुनै पनि समस्या नआओस् भनेर विशेष ध्यान दिइएको छ । सबै शाखा तथा वितरण केन्द्रलाई कुनै समस्या आउ तत्काल समाधान गर्ने गरी परिचालन गरिएको छ ।’

उनले दीपावलीको समयमा बिजुलीको माग अत्यधिक मात्रामा नरहने र सामान्य नै रहने जानकारी दिए । गत भदौको अन्तिम साताको एक दिन मात्रै प्रणालीमा १ हजार ६२० मेगावाट बराबरको बिजुलीको माग पुगेको भएपछि पछिल्ला दिनमा माग क्रमशः घटिरहेको छ । कार्यकारी निर्देशक घिसिङले प्राधिकरण उपभोक्ताको साथमा रहेकाले निश्चिन्त भएर बिजुलीको खपत गर्न आग्रह गरेका छन् ।

धेरै वर्षपछि कुलेखानीको जलाशय भरिएको जानकारी दिँदै उनले देशभित्रै बिजुलीले दीपावलीलाई थप उज्यालो बनाइने बताए ।

समयमा काम नहुँदा उपकरण आपूर्तिमा समस्या

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफू झण्डै १ वर्ष प्राधिकरण बाहिर रहँदा मिटर र ट्रान्सफर्मर एवं तारको नियमित बोलपत्रमा समस्या परेको बताए । मनग्गे रुपमा विद्युतीकरणका लागि आवश्यक पर्ने मिटर, ट्रान्सफर्मर र तार अभाव रहेको भन्दै त्यसको समाधानका लागि पहल भइरहेको बताए ।

३ हजार ट्रान्सफर्मर नेपाली कम्पनी नेपाल इकरातबाट खरिद गर्ने गरी बोलपत्र भइसकेको छ । यस्तै, मिटर र तार आयातका लागि समेत बोलपत्रको प्रक्रिया अगाडि बढेको छ । समयमा काम हुन नसक्दा ती सामग्रीको अभाव रहेको उनले बताए । देशको कूल जनसंख्यामध्ये ९० प्रतिशतमा बिजुली पुगेको भए पनि अझै विद्युतीकरणको प्रक्रिया जारी रहेकाले थप मिटर, ट्रान्सफर्मर र तार आवश्यक पर्ने उनको भनाइ छ ।

सिँचाइका लागि सकारात्मक पहल

प्राधिकरणले यस पटक लागू गर्न लागेको बिजुलीको महशुलमा सबैभन्दा बढी लाभ सिँचाइ क्षेत्रले प्राप्त गरेको छ । पछिल्लो महशुलअनुसार प्रतियुनिट रु २ सिँचाइका लागि बिजुली उपलब्ध हुने भएको छ । पछिल्लो पटक विद्युत् नियमन आयोगले स्वीकृत गरेको नयाँ महशुलअनुसार तराईका विशेष गरी प्रदेश नं २ का किसान सबैभन्दा बढी लाभान्वित हुने भएका छन् । सो प्रदेशको करिब शतप्रतिशत क्षेत्रमा नै विद्युतीकरण भएको छ । सोही प्रदेशमा दातृ निकायको सहयोगमा रु ४ अर्ब बराबरको परियोजना अगाडि बढेको छ ।

प्राधिकरणले सो प्रदेशमा छुट्टै प्रसारण लाइनमार्फत सिँचाइको फिडर बनाउने तयारी गरेको छ । रातको समयमा खेर जाने बिजुलीको खपतसमेत हुने र कृषिउपज उत्पादनमा बढाउनका लागिसमेत सिँचाइमा छुट दिइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनले उद्योगी तथा व्यवसायीलाई पनि नयाँ नयाँ उद्योग स्थापना गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत सहजरुपमा बिजुली दिन सकिन्छ । नयाँ उद्योग स्थापनामा लाग्नुस । बिजुलीको चिन्ता हामीलाई छाडिदिनुस् ।’ उनले ट्रंक तथा डेडिकेटेड लाइनको महशुलसम्बन्धी विवाद क्रमशः समाधान हुने समेत बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.