www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

ग्लास्गो, विशेष प्रतिनिधि, भीष्मराज ओझा

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन ‘कोप–२६’ अन्तर्गत २ दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गरेका छन् ।

सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गरेको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राज्य र सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भूउपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औंजारमा नेपालको चासो रहेको धारणा व्यक्त गरेको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिए ।

Batas

प्रधानमन्त्री देउवासँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड–१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गरेको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिए । त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसिसी’ की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाले मंगलबार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षे र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता भएको थियो । अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गरेको थियो ।

शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा उनले नेपालका तर्फबाट राष्ट्रिय सम्बोधन गरेका थिए । सम्मेलनमा ११७ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखले सम्बोधन गरेको थियो । प्रधानमन्त्री देउवाले आज नोभेम्बर ३ तारेख स्थानीय समयानुसार बिहान १०ः३० बजे स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्नेछन् ।

उनी नेतृत्वको प्रतिनिधिमण्डल आजै इडिनबर्ग विमानस्थलबाट कतारको दोहाहुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य पुगेका थिए । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.