www.tandavnews.com
Fact ~ In search of truth

जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेललेसही तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गरेका हुन् ।

नेपालमा १२ औं जनगणना बिहीबार अर्थात कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुँदैछ । राज्यको पुनसंरचनापछि अर्थात् देशले संघीय शासन प्रणाली अंगालेपछिको यो पहिलो जनगणना भएकाले यसपटकको जनगणनाको खास महत्व रहेको मुख्यमन्त्रीले जनाएका छन् । प्रदेश भनेको संघीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन ।

Batas

२०७२ सालमा संविधान जारी भएसँगै प्रदेशहरुको स्थापना भए पनि हाम्रो तथ्यांक थिएन । उनले भनेका छन्, ‘२०६८ सालमा राज्यको पुरानो संरचना अन्तगरगत गरिएको जनगणनाका तथ्यांकलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छौं । तर यसपालि जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसंख्या तथ्यांक उपलब्ध गराउनेछ । यो खुसीको कुरा हो ।’

हाम्रो प्रदेशको जनसंख्या कति छ रु कुन कुन जातिका मानिसहरुको बसोबास छ ? कुन धर्म र सस्कृतिका मानिसहरु कति छन् ? कुन भाषा बोल्ने मानिसहरुको बाहुल्य छ ? सामाजिक बहिष्करणमा परेका समूहहरु दलित, जनजाति, अल्पसंख्यक लोपोन्मुख महिला, अपांगता भएका व्यक्ति आदिको जनसंख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लंग पार्ने मुख्यमन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् । उनका अनुसार जनगणनाबाट आउने यही तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक, समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ ।
यसपटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको, नगरेको, वडा तहसम्म सामुदायिक भवनहरुको अवस्था के छ कस्तो छ, जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जनगणनाको तथ्यांक संकलनको पहिलो चरण अन्तरगत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षकहरु सबैको घरदैलोमा पुगी घर तथा परिवार सूचीकरण कार्य सम्पन्न भइसकेको छ ।

जनगणनाका क्रममा टिपाएका तथ्यांक गोप्य रहने भन्दै मुख्यमन्त्रीले उल्लेख गरेका छन्, ‘यस्ता विवरण गोप्य नराख्ने वा गोपनियता भंग गर्ने जो कोहीलाई कानुन बमोजिम कारवाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।’ आफ्ना घरमा तथ्यांक संकलन गर्न आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि उनले आग्रह गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘गणकले सोधेका सबै प्रश्नहरु धैर्यपूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछ ।’

केन्द्रीय तथ्यांक विभागले यस जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरुले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्रीले पोखरेलले अनुरोध गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.