www.tandavnews.com
Fact ~ In search of truth

पाल्पालाई ढाकाको ‘हब’ बनाइने

सुशिला रेग्मी, रामपुर- पाल्पा

ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै ‘हब’ बनाउन जोड दिइएको छ । पाल्पाली ढाका संघद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए ।

देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान बनाइसकेको छ । पाल्पाली ढाका संघले ढाकाको ब्राण्ड बजारमा ल्याउने तयारी गरिरहेको छ । बाहिरबाट ल्याएको ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा आउन लागेको संघले जनाएको छ । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ढाका कपडाको उत्पादनमा वृद्धि गर्नसके यसबाट धेरैले रोजगार पाउने सम्भावना रहेको बताए ।

Batas

‘ढाका कपडा खरिद गर्नकै निम्ति बाहिरबाट ग्राहक पाल्पा आउने गरेका छन्’, उनले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।’ ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ नारालाई सार्थक बनाउन पनि ढाका कपडाबाट सघाउ पुग्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले महिलाको सीप विकास र उद्यमशीलता विकासका लागी ढाकाबाट सहयोग पुग्ने बताए ।

श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले आफ्नो मन्त्रालयबाट पाल्पाली ढाकाको विकासका लागि आवश्यक पहल गर्ने आश्वासन दिए । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सीप, श्रम, स्वरोजगार र ब्राण्डिङमार्फत् पाल्पालाई देशकै ढाकाको केन्द्रका रुपमा चिनाउन सहयोग पुग्ने बताए ।

संघकी अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाम बेचेर बाहिरबाट भित्रिएका ढाकाको व्यापार गरेकै कारण स्थानीय ग्राहक मारमा परिरहेको बताए । उनी अब ब्राण्डसहितको ढाका बजारमा आएपछि उपभोक्तालाई न्याय मिल्ने बताए । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा निर्यात गरिँदै आएको छ । ‘ढाका कपडाको व्यापारका नाममा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार आगटेको छ । यसले उपभोक्ता र ढाका व्यापारी मारमा परेका छन्’, महर्जनले भने ।

गुणस्तरीय नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । पाल्पाली ढाका संघले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । युके एड ‘सीप’, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका कपडा अब चाँडै बजारमा आउने भएको छ ।

भारत र चीनबाट आयात गरिएको ढाका कपडाका कारण पाल्पाली ढाका कपडाको व्यापार चौपट भएको छ । ‘ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा सञ्चालन गर्नुपर्छ’, पाल्पाली ढाका संघका व्यवस्थापक अनुशेष रायमाझीले भने । उनका अनुसार ३ वर्षे ब्राण्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौँसँग सम्झौता गरी काम अगाडि बढाएको छ । ढाका कपडा बजारमा छिट्टै पठाइँदैछ ।

उनी भन्छन्, ‘ब्राण्डिङ गरेको सामान तानसेन र काठमाडौँमा आगामी पुससम्म एकैसाथ ल्याउने तयारी छ, काठमाडौँमा ४ तथा पोखरामा एउटा सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने सम्झौता भइसकेको छ ।’ ब्राण्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदूरले सरकारले तोकेको न्यूनतम ज्याला पाए नपाएकोलगायत मापदण्ड तयार पारेको छ ।

सुरुआती चरणमा तानसेन र काठमाडौँमा एकैसाथ ढाका कपडा बिक्री गर्ने तय भएको छ । विस्तारै सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा ढाका पुर्याउने संघको योजना छ । स्वीजरल्याण्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको संघले जनाएको छ । हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ ।

बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले पाल्पाका केही उद्योग बन्द भएका थिए । अहिले ब्राण्डिङमा लैजाने भएपछि उद्योगी पुनः उत्साहित भएका छन् । उद्योग व्यापार फस्टाउने उनीहरुलाई आशा छ । उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्नेछ । अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पामा करिब ४० को सङ्ख्यामा ढाका कपडाका व्यापारी छन् । दसैंअघि तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा ‘पाल्पाली कोसेली घर’ सञ्चालन गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.