www.tandavnews.com
Fact ~ In search of truth

पोखराः ‘काल बन्दै भाइरल राजमार्ग’

सवारी दुर्घटनाः पोखरा महानगरमा कतिले गुमाए ज्यान ?

अर्जुन गाहा (सुशान्त)
पोखरा/ ताण्डव न्यूज

भाइरल सडकखण्ड, जसले पोखराको परिचयको दायरा फरक भएको छ । पोखराको भूपीशेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग अन्तर्गत हेम्जा सडकखण्डलाई लिएर आम नागरिकले विभिन्न टिप्पणीसहित गुणगान गाएका छन् । उनीहरु आ-आफ्ना नेताले बनाएको भन्दै पैरवी गरिरहेका छन् । तर सवारी दुर्घटनाको विषयमा भने मौन छन् ।

६ लेनको फराकिलो सडकमा लाईन पार्किङ र पृष्ठिभूमीमा देखिने हिमश्रृङ्खलाले आम नागरिकको ध्यान खिचेको हो । यसले प्रष्ट देखाएको छ, नेपालमा हाईवे विस्तार र विकास सम्भव छ । तर सडक निर्माण भएता पनि दुर्घटना न्यूनीकरण गर्नका लागि भने आवश्यक पूर्वाधारहरु निर्माण नभएको स्थानीयहरुको गुनासो छ । जसका कारण दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

Batas

फराकिलो सडकमा सवारी चलाउन सजिलो भएपनि घेरैले ज्यान गुमाएको पस्र्याङका स्थानीय राजेन्द्र अधिकारीले गुनासो गरे । ‘अझै रातीको समयमा क्याट आई नहुँदा धेरै दुर्घटना भएको छ,’ अधिकारीले भने, ‘यो राजमार्ग त काल बनेको छ ।’ सडक फराकिलो बनाएरमात्र नहुने उनको भनाई थियो ।

साउनदेखि असोजसम्म भूपी शेरचन राजमार्गमा १० सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले बताए । उनका अनुसार सो दुर्घटनामा परि १३ जनाको ज्यान गएको छ भने ११ जना घाईते भएका थिए । ईन्पेक्टर बस्नेतले पृथ्वी राजमार्गमा ६ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको बताउँदै ४ जना घाईते भएको जानकारी दिए । उनका अनुसार पोखरा उपत्यकामा ११ सवारी दुर्घटना भएको थियो । सो दुर्घटनाबाट २ जनाले ज्यान गुमाएका थिए भने १४ घाईते भएका थिए ।

भूपिशेरचन राजमार्गमा दुर्घटना

भूपिशेरचन राजमार्ग अन्तर्गत साउन महिनामा कुल ५ वटा दुर्घटना भएको थियो । सो दुर्घटनामा ४ जनाको ज्यान गएको थियो भने ४ घाईते थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकअनुसार सो महिनामा हेम्जामा ३ दुर्घटनामा ३ जनाकै मृत्यु, बागलुङ बसपार्कमा १ को मृत्यु, २ घाईते र माछापुच्छ्रे गाउँपालिकामा १ घाईते भएका थिए ।

यसैगरी सोही राजमार्गमा भदौ महिनामा पोखरा ५ पस्र्याङमा एउटामात्रै दुर्घटना भएको थियो भने चालकमात्रै घाईते भएका थिए । भूपिशेरचन राजमार्गमा असोज महिनामा ४ वटा सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु भएको थियो भने ३ जना घाईते भएका थिए । हुँदुमा ८ जना र शान्तिचोक मा १ जनाको मृत्यु भएको थियो । भने जिरो किमीमा १ र पस्र्याङमा २ जना घाईते भएका थिए ।

पृथ्वीराजमार्गमा कति ?

पृथ्बीराजमार्ग अन्तर्गत बुढिबजारमा साउन महिनामा १ जनको मृत्यु भएको थियो । भदौ महिनामा लामेआहालमा १, र बुद्धचोकमा १ गरि २ जनाको ज्यान गएको थियो भने विजयपुरमा १ र डाडाँनाकमा १ गरि २ जना घाईते भएको तथ्यांकमा उल्लेख छ । यसैगरी असोजमा सुन्दरीबजार भएको दुर्घटनामा परि १ जनाको मृत्यु भएको थियो भने १ जना घाईते भएका थिए ।

पोखरा महानगरमा कति ?

पोखरा महानगरभित्र साउन महिनामा बरालफिडमा भएको दुर्घटनामा १ र मेथलाङमा १ गरि २ जनाको मृत्यु भएको थियो भने बरालफिडमा १ र मेथलाङमा ३ जना घाईते भएका थिए ।

पोखरा महानगरभित्र भदौ महिनामा ५ वटा सवारी दुर्घटना भएको थियो । जसमध्ये खाल्टेमसिनामा १ जनाको मृत्यु भएको थियो । भकुण्डेमा २ जना, पटनेरीमा १, न्यूरोडमा १, सभागृहचोकमा १ र वाईचोकमा १ गरि कुल ६ जना घाईते भएका थिए ।

यसैगरी पोखरा महानगरभित्र असोज महिनामा ३ दुर्घटनामा ४ जना घाईते भएका थिए । जसमध्ये दिपमा २, रामबजारमा १ र नारेश्वरमा १ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा तथ्यांकमा उल्लेख छ ।

रोड सेफ्टीका काम हुँदैछन्ः ईन्जिनियर सुवेदी

सडक डिभिजन पोखराका प्रवक्ता तथा ईन्जिनियर किरण सुवेदीले हाईवेमा ट्राफिक संकेतहरुले महत्वपूर्ण अर्थ राख्ने बताउँदै आवश्यक पूर्वाधारहरु बन्ने बताए । उनले भूपी शेरचन राजमार्ग अन्तर्गत जिरो किमीदेखि हरिचोक सडकखण्डमा फेरी लाईन मार्किङ भइरहेको बताए । उनले पछिल्लो समय पोखरा ५ पस्र्याङ क्षेत्रमा मेटेईएका लाईनहरुलाई र डिभाईडरहरुमा रङ लगाउने काम भइरहेको दोहोर्याए । ‘अहिले फिर्के पुलसम्मको लाईनहरु मार्किङ गरिराछौ, उनले भने, ‘त्योभन्दा माथीको नयां ठेक्कामा छैन । यो आर्थिक वर्षमा गरेर रङरोगन जेब्राक्रसिङ हुन्छ । र विन्दबासिनीदेखि हरिचोकको स्तरोन्नती भइराछ त्यसमा अस्फाल्टको सकिएपछि रङरोगनको काम र साईनको काम हुन्छ ।’

उनले सो क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि क्याटआई (राती सडक छेउमा बल्ने बत्ती) पछिल्लो प्रोजक्टमा राखिने बताए । ‘अहिले त्यहाँ क्याटआई छैन भने अर्काे पटक हामी राख्छौ ।’ सुवेदीले भने । ईन्जिनियर सुवेदीले मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने हेम्जा सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउँदै रोड सेफ्टीसँगै फिनिसिङका कार्यहरु भइरहेको जानकारी दिए । ‘हाईवेमा स्पिड ब्रेकर हुँदैनन्, उनले भने, ‘अहिले उहाँहरुले मार्किङ, पेन्टिङहरु गर्दै हुनुहुन्छ । क्याटआई (राती सडकछेउमा बल्ने बत्ती) राख्ने काम बाँकी छ । ट्राफिक साईनवोर्ड तथा ईन्फर्मेशन वोर्डहरु राख्ने काम गर्दै हुनुहुन्छ । यस्ता कुराहरु रोड सेफ्टीमा पर्छन । यी कामहरु हुँदैछन् ।’

मज्जाको पछाडी रिस्की छः राईडर रन्जित

भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग अन्तर्गतको जिरो हरिचोक तथा हेम्जा सडकखण्डमा मोटरसाईकल हाक्नुको मजा पछाडी जोखिम रहेको राईडर रन्जित गुरुङले बताए ।

उनले ट्राफिक नियमको उल्लंघन गरिएको खण्डमा दुर्घटना हुन सक्ने धारणा राखे । ‘त्यो बाटोमा बाईक कुदाउन त मजै छ नी तर रिस्क पनि उत्तिकै छ, उनले भने, ‘नेपालमा त्यस्तो बाटो उदाहरण नै हो तर चलाउँदा चालक पनि संयमित हुनपर्छ ।’

फराकिलो सडकमा सवारी चलाउन सजिलो भएपनि घेरैले ज्यान गुमाएको पस्र्याङका स्थानीय राजेन्द्र अधिकारीले गुनासो गरे । ‘अझै रातीको समयमा क्याट आई नहुँदा धेरै दुर्घटना भएको छ,’ अधिकारीले भने, ‘यो राजमार्ग त काल बनेको छ ।’ सडक फराकिलो बनाएरमात्र नहुने उनको भनाई थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.