www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ: हिमपहिरोमा १२० चौरी बेपत्ता

म्याग्दी

मुस्ताङको थासाङ गाउँपालिका–२ को जंगलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर २ गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् ।

हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । “भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ”, उनले भने, “भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौँरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन् ।”

Batas

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । हिमपहिरोले जंगलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जंगलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ ।

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेको थियो । क्षतिको विवरण संकलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।

हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए । हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ ।

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.