www.tandavnews.com
Fact ~ In search of truth

आज हरिबोधिनी एकादशी मनाइँदै, पोखराको तुलसीघाटमा मेला

पोखरा ताण्डव न्यूज

आज हरिबोधिनी एकादशी मनाइँदै छ । एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रुपमा हरीबोधिनी एकादशीलाई लिने गरिन्छ ।

आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास पनि रही आएको छ । आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । ४ महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप मानिने पिपलसँग विवाह गरिदिने परम्परा रहेको छ ।

Batas

वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्व रहेको छ । हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ । आज पोखराको तुलसीघाटमा तोरण तार्नेहरुको मेला लाग्दैछ । विगतका २ वर्ष कोरोना महामारीका कारण कम चहलपहल भएको उक्त ठाउँमा यस वर्ष भने मानिसहरुको चहलपहल बढेको छ । पोखरा आसपासका गाउँहरु, छिमेकी जिल्लाबाट समेत उक्त ठाउँमा तोरण तार्नका लागि फूलको डोली सहित भक्तजनहरु पुग्ने गर्दछन् ।

त्यस्तै पोखराको महतगौँडास्थित हरिहर मन्दिर परिसरमा समेत श्रद्धालुहरु पुग्ने गर्दछन् । यस दिनमा सुनसरीको बराह क्षेत्र र काठमाडौँको बूढानीलकण्ठ लगायत उपत्यकाका ४ दिशामा रहेका ४ नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन आज काठमाडौँका बुढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.