www.tandavnews.com
Fact ~ In search of truth

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री पोखरेल

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकताको विषय भएको भन्दै यसको अगुवाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका छन् । सबै प्रदेशमा सरकारीस्तरको कम्तीमा पनि एउटा मेडिकल हुनुपर्ने प्रावधान छ ।

युग सुहाउँदो जनशक्ति उत्पादनका लागि २ वर्ष अगाडि सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले यस अघि नै मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिसकेको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कन्फरेन्स प्रोसिडिङ्स विमोचन कार्यक्रममा मंगलबार मुख्यमन्त्री पोखरेलले नागरिकलाई सर्बसुलभ स्वास्थ्य सेवा दिलाउन र स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गर्नैपर्ने बताएका छन् । उनले भने, ‘धेरै विषयमा अगाडि रहेको गण्डकी प्रदेश यसमा किन पछाडि पर्यो, सोच्ने बेला आएको छ, तैपनि हामीले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामै राखेका छौं ।’

Batas

उनका अनुसार प्रदेशको पहिचान हुनु जरुरी भएकाले प्रदेशले आफ्नै विश्वविद्यालयको परिकल्पना गरेको हो । ‘यो विश्वविद्यालयले नेपालमा भएका अरु विश्वविद्यालय भन्दा आफूलाई फरक रुपमा प्रस्तुत गर्नुपर्छ र त्यसै अनुसारको जनशक्ति उत्पादनमा लाग्नुपर्छ, यहाँको जनशक्ति खोसाखोस हुनुपर्छ ।’

विश्वविद्यालयले गर्दै आएका कार्यसम्पदानतर्फ इंगित गर्दै मुख्यमनन्त्री पोखरेलले कतिपय निर्णय र काम गदाए प्राविधिक रुपमा मात्र हेरेर हुँदैन भने । उनले भने, ‘विश्वविद्यालयलाई प्राविधि, वास्तविक र व्यावहारिक तिनै कुरालाई मिलाएर जानुपर्दछ ।’ हाम्रो स्रोत, साधन र शक्ति भ्याएसम्म जसरी विश्वविद्यालय स्थापनामा अगाडि भयौं, यसलाई सफल बनाउन पनि मेहनत गर्नुपर्दछ ।’ सरकार, नीति तथा योजना आयोग र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्न उनले आग्रह गरे । छात्रवृत्ति वितरणमा देखिएको समस्या समाधानका लागि पनि संघ सरकारसँग समन्वय गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा मन्त्री डोवाटे विश्वकर्माले विश्वविद्यालय सम्बन्धी विधेयक सदनमा आएदेखि नै आफूले यसमा विशेष चासो दिएको बताए । विश्वविद्यालयलाई समावेशी संरचनाको बनाउन आफूले संशोधन दर्ता गराए पनि त्यतिबेला आफूहरु प्रतिपक्षमा भएका कारण पारित नभएको उनले स्मरण गरे । अब जसरी भए पनि युग सुहाउँदो र बजारले मागेको खालको जनशक्ति निर्माणमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

उक्त अवसरमा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले आविश्कार केन्द्र निर्माणदेखि शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए । बेलायतको मिजोर विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदानका बारेमा सहमति भइसकेको, कोरिया र नर्बेका विश्वविद्यालयसँग पनि सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए । गण्डकी प्रदेश लोकगीत र संस्कृतिको खानी भएकाले लोक दोहोरी विभाग सञ्चालन सोच विश्वविद्यालयले बनाएको कुलपति गुरुङले सुनाए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष डा. रघुराज काफ्लेले विश्वस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमै विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताए । अनुसन्धानमूलक प्रस्तुतिहरुको संगालो प्रकाशन गरेर विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाले गर्नुपर्ने महत्वपूर्ण काम भएको भन्दै उनले प्रशंसा समेत गरे ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले संघ सरकारको कानुन अनुसार स्थापित विश्वविद्यायहरुमा छात्रवृत्ति सम्बन्धी बनेका नियम पालन गर्न केही प्राविधि समस्या आइपरेको बताए । अहिले विश्वविद्यालयले स्नातक तहमा सूचना प्रविधि, स्पोर्टस् म्यानेजमेन्ट र फार्मेसीका कक्षा सुरु गरेको जानकारी उनले गराए ।

विश्वविद्यालयका रजिस्टार डा. कैलाश तिमिल्सिनाले स्वागत गर्दै दलीय राजनीतिको प्रभावबाट माथि उठेर शैक्षिक गतिविधि सञ्चालन गर्न आफूहरु लागीपरेको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.