www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थीको स्वास्थ्यमा पोखरा बहुमुखीको चासो, भेरोसेलको दोस्रो डोज उपलब्ध

पोखरा, ताण्डव न्यूज

असोजको ६ गते कोरोना भाइरसविरुद्ध भेरोसेल खोप लगाएका विद्यार्थीहरुलाई पोखरा बहुमुखी क्याम्पस, पोखराले आज दोस्रो डोज खोप उपलब्ध गराएको छ ।

यसअघि, सरकारले क्याम्पसहरुमा भौतिक कक्षा सुरु गर्न निर्देशन दिएलगत्तै क्याम्पसले पहिलो डोज खोप उपलब्ध गराई पठनपाठन सुरु गरेको थियो । त्यसपश्चात् आज क्याम्पसले दोस्रो डोज उपलब्ध गराएको हो । त्रिभुवन विश्वविद्यालयले सुरक्षाको मापदण्ड अपनाएर भौतिकरुपमै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि क्याम्पसले सम्भव भएसम्म विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । सोही तयारीस्वरुप पोखरा महानगर स्वास्थ्य महाशाखाको समन्वयमा खोप उपलब्ध गराइएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।

Batas

साथै, खाेप लगाउन छुटेका विद्यार्थीलाई क्याम्पस प्रशासनमा सम्पर्क राख्न अनुराेध गरिएकाे छ ।

‘कक्षा सञ्चालनभन्दा पनि विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउनु आवश्यक ठान्यौ’ प्रमुख पराजुलीले भनिन् ‘हामीले महानगरको स्वास्थ्य शाखासँग अनुरोध गरेपछि विद्यार्थीलाई दोस्रो मात्रा खोप प्रदान गरेका छौं ।’ क्याम्पस परिसरमा २ सय ५२ विद्यार्थीले भेरोसेलको खोप लगाएको पराजुलीले जनाइन् ।

विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको नयाँबजारस्थित क्याम्पसले पोखराको शान्तिवन नजिकै आफ्नै स्वामित्वको भवन निर्माण सुरु गरेको छ । उक्त भवनबाट आगामी शैक्षिक सत्रको सुरुवात गर्ने जनाउँदै क्याम्पस प्रशासनले यही १४ गते आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, सरोकारवाला र स्थानीयलाई अनुरोधसमेत गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.