www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन प्रवद्र्धन गर्न पोखरामा, ‘नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’

पोखरा

नेपाल–बंगलादेशबीच पर्यटन प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा यहाँ छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन ‘पाटा; नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरण यहाँ सम्पन्न भएको हो ।

सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवद्र्धनका विषयमा छलफलअन्तर्गत पाटाको टोलीले यहाँका पर्यटन व्यवसायीसँग सो विषयमा छलफल गरेको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा पाटा बंगलादेश च्याप्टरका अध्यक्ष शहीद हमिद र महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायीको टोलीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए । उक्त टोलीमा बंगलादेशका टुर अपरेटर, मिडिया र युनिभर्सिटीका पाटा स्टुडेन्ट च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवद्र्धनअन्तर्गत हुन लागेको बी टु बी ‘बिजनेस टू बिजनेस’ सम्झौताका लागि यो टोली नेपाल आइपुगेको हो ।

Batas
पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरको सहकार्यमा भएको ‘नेपाल-बंगलादेश पर्यटन प्रवद्र्धन एण्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’मा पर्यटन व्यवसायी छलफल गर्दै । तस्बिरः जमुनावर्षा शर्मा/रासस

कार्यक्रमअनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । उनले आर्थिक सम्बन्ध दरिलो बनाउन दुई देशबीचका पर्यटकीय क्षेत्रको प्रवद्र्धन व्यनवसायिक साझेदारीमा सम्भाव्यताको खोजीका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनका अनुसार यसपछि काठमाडौँमा बी टू बी कार्यक्रममा ‘डेस्टिनेसन इनसाइड’ बारे प्रस्तुतीकरण गरिनेछ ।

बंगलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमिदले कोभिडका चपेटामा परेको पर्यटन प्रवद्र्धनका लागि नवीनतम सोच र अवधारणा खाँचो औँल्याउँदै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले आन्तरिक पर्यटन मुलुककोे मेरुदण्ड भएकाले सन् २०२२ का लागि क्षेत्रीय सहकार्य गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार रहेको प्रस्ट्याए । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलंका, भूटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उनले जानकारी दिए ।

परिषद्का पूर्वअध्यक्ष एवम् कार्यक्रम संयोजक टीकाराम सापकोटाले भौगोलिक दूरीका हिसाबले २७ किलोटिर टाढा रहेको बंगलादेशसँग नेपालले साझेदारीमा आर्थिक समृद्धिका लागि धेरै कार्य गर्न सक्ने जानकारी दिए । उनले कोरोनापछि दुई देशबीचको नेटवर्किङका लागि भएको यस कार्यक्रमले आगामी दिनमा दुई देशबीच पर्यटन प्रवद्र्धनलगायत व्यवसायिक साझेदारीमा काम गर्न सकिने बताए । कार्यक्रममा यहाँका पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.