www.tandavnews.com
Fact ~ In search of truth

एम्बुलेन्स किन्नलाई बजेट अपुग भएपछि प्रवासीले पठाएको २८ लाख फिर्ता

 २ सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषणा गरिएको धौलागिरि अस्पताल अहिले थोत्रो एम्बुलेन्सका भरमा

बागलुङ

धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ ।

बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाइ छ ।

Batas

भन्सार छुटसहित रु ५५ लाख पर्ने सो एम्बुलेन्सका लागि थप रु २७ लाखको खाँचो थियो । अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको हो । “मन्त्रालयले नीतिगत बाधा पनि फुकाउन सकेन, नागरिकले साझेदारी गर्छौंभन्दा पनि बजेट दिएन”, राना मगरले भने, “एम्बुलेन्स सेवाका लागि प्रवासीले गरेको सहयोग दुःखका साथ फिर्ता गर्नुपर्ने स्थिति आयो ।”

अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइएको थियो । रु ८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा रु २८ लाखमा आउने भएपछि दाताको मात्रै रकमले किन्न पुग्थ्यो । स्थानीय तह, प्रदेश हुँदै अगाडि बढाइएको एम्बुलेन्स खरिदको प्रस्ताव र सिफारिस संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेर रोकिएको राना मगरले बताए ।

मन्त्रालयका पदाधिकारीले बागलुङका हकका विशेष निर्णय गरेर भए पनि टु ह्विल एम्बुलेन्स खरिदका लागि अनुमित दिने बताए पनि निर्णय नदिई अल्झाएर राखेको उनको गुनासो छ । “मन्त्रालयमा धेरेपटक धायौँ, पछिल्लोपटक एम्बुलेन्स हेर्ने स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइमा पनि सोधखोज ग¥र्यौँ तर कुनै सुनुवाइ भएन”, उनले भने, “मन्त्रालयले टु ह्विल एम्बुलेन्स किन्न पनि नदिने र फोर ह्विलका लागि बजेट पनि नथप्ने भएपछि दाताको पैसा फिर्ता गर्ने निर्णयमा पुग्यौँ ।”

गत वैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि पनि गत असोज २२ देखि सकिएको छ । नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन । समितिका सदस्य सचिवसमेत रहनुभएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले टु ह्विल एम्बुलेन्स खरिद गर्न नीतिगत बाधा देखिएको र फोर ह्विलसहितको सुविधायुक्त एम्बुलेन्सका लागि बजेट अपुग भएको बताए ।

एम्बुलेन्स खरिदका लागि अघिल्लो व्यवस्थापन समितिले पहल लिएको र दाताबाट आएको रकम पनि अस्पतालको खातामा नआई निवर्तमान अध्यक्षमार्फत नै त्यसको सहजीकरण भएको उनको भनाइ छ । अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनका लागि मन्त्रालयसँग बजेट माग र समन्वयको काम भइरहेको मेसु पोखरेलले बताए ।

बागलुङ–अष्ट्रेलिया कमिटीले सो रकमबारे सहयोगदातालाई जानकारी गराई कमिटीकै मातहात राखिने भएको छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषणा गरिएको धौलागिरि अस्पताल अहिले पनि थोत्रो एम्बुलेन्सका भरमा छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.