www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारी सञ्चयकोषद्वारा जग्गा खरिद सापटीकर्जा सुरु

काठमाडौँ

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ । कोषमा १ वर्ष वा सोभन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।

कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरिद सापटी कर्जा सुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए । जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० पचास लाख वा जग्गा खरिदबिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिने छ ।

Batas

कर्जा चुक्ता अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम १० वर्षको हुनेछ । कोषले यसअघि घर सापटी, घर मर्मत, सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताको हकमा सापटी चुक्ता गरेपछि र शैक्षिक सापटी लिएका सञ्चयकर्ताको हकमा कर्जा नियमित गरेको अवस्थामा मात्र सापटी लिन सकिनेछ ।

सञ्चयकर्ताले पहिले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुईपटक मात्र जग्गा खरिद सापटी लिन सक्ने छन् । जग्गा खरिद सापटीको धितोको लागि न्यूनतम ४ मिटरको बाटो भएको काठमाडौँ उपत्यकाभित्र कम्तीमा ३ आना र उपत्यका बाहिर कम्तीमा ८ धुर वा ५ आना क्षेत्रफल र तोकिएको मापदण्ड पूरा भएको जग्गा हुनुपर्ने छ ।

सञ्चयकर्ताले जग्गा खरिद सापटी लिन काठमाडौँ उपत्यकाको हकमा लगनखेलस्थित कोषको कार्यलयबाट तथा उपत्यका बाहिरको हकमा कोषका शाखा कार्यालयमा आवेदन गर्नुपर्ने छ । कोषले यसअघि सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी र सरलचक्र कर्जा जस्ता सापटी प्रदान गर्दै आइरहेको छ, भने औषधोपचार सुविधा, किरियाखर्च र शिशु तथा प्रसूति स्याहार जस्ता सामाजिक सुरक्षासुविधा समेत प्रदान गर्दैआइरहेको छ ।

अर्थ मन्त्रालयको वार्षिक बजेटमा राष्ट्र सेवक कर्मचारीलाई कर्मचारी सञ्चयकोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने उद्देश्य छ । कोषको गत कात्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि २०३११ जनालाई रु ३७ अर्ब ७८ करोड, शैक्षिक सापटी तर्फ ६६१ जनालाई रु ५९ करोड, घर मर्मत सापटी तर्फ १,७७९ जनालाई रु १ अर्ब ८७ करोड र सरलचक्र कर्जातर्फ ३,३८५ जनालाई रु ४ अर्ब ९२ करोड गरी धितोमा आधारित कर्जा रु ४५ अर्ब १७ करोड लगानी छ ।

कोभिड– १९ को कारण लकडाउनको अवधिमा कर्जा प्रवाहमा केही कमी आएको भए पनि देशको आर्थिक गतिविधिमा सहज वातावरण निर्माण भएसँगै धितो आधारित कर्जा २०७८ श्रावण देखियता ४ महिनाको अवधिमा ९१३ जना सञ्चयकर्तालाई रु ३ अर्ब २७ करोड कर्जा प्रवाह भएको छ ।

कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई कोभिड– १९ को अवधिमा आव २०७७/७८ मा १५,४४२ जना सञ्चयकर्ताले रु ८ करोड ४३ लाख ५७ हजार ब्याजमा छुट सुविधा पाएका छन् । गतवर्ष आव २०७६/७७ मा कोभिड– १९ को अवधिमा १५,९०३ जना सञ्चयकर्ताले रु ८ करोड ४३ लाख १६ हजार ब्याजमा छुट सुविधा पाएका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.