www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौँः राष्ट्रपति भण्डारी

महोत्तरी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरेको हो ।

“प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ”, राष्ट्रपति भण्डारीले भनिन्, “हामीले आफ्नो गौरवपूर्ण विगतलाई सम्मान गर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।” मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वांग्म्य समृद्ध बनेको पनि उनले चर्चा गरिन् । मुलुकको विकास र पहिचानमा खेलकूद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

Batas

यो यथार्थलाई हृदयाङ्गम गरी मटिहानी नगरपालिकाले विशाल रंगशाला निर्माण गरेर समयोचित काम गरेको उनले बताइन् । नवनिर्मित रंगशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रले विशिष्ट स्थान ओगटेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमि रहेको यस ठाउँमा अझै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास र अशिक्षाले सिर्जित गरिबी अहिलेको चुनौती बनेको बताइन् ।

यसलाई न्यूनीकरण गर्न प्रदेश–२ सरकारले थालेको ‘छोरी बिमा’ र ‘बेटी बचाउ–बेटी पढाउ’ कार्यक्रमको राष्ट्रपति भण्डारीले सराहना गरिन् । “प्रदेश–२ सरकारले थालेको यो प्रयत्नले नारी शिक्षालाई बल दिनसँगै सक्षम नागरिक बनाउन मद्दत गर्नेछ”, भण्डारीले भनिन् । शिक्षाको अवस्था फेर्नसँगै बालविवाह, अनमेल विवाह, बहुविवाह, दहेज र तिलक प्रथा एवं बोक्सीप्रथा जस्ता विसंगति र विकृति समाजमा अझै देखिनु दुःखको विषय रहेको राष्ट्रपतिले बताइन् । “हाम्रा प्रयत्न यसको समूल अन्त्यका लागि केन्द्रित हुन आवश्यक छ”, उनले भनिन् ।

मटिहानीमा ३०० वर्ष पहिले स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । शैक्षिक जागरणका अग्रदूत बालगुरु षडानन्दलेसमेत अध्ययन गर्नु भएको यो विद्यालयको समयोचित सुधार र विकासमा योगदान पुर्याउनु सबैको दायित्व भएको भण्डारीले बताइन् ।

मटिहानीका धार्मिक सम्पदा लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, तश्मैयाबाबाको खन्ती, पिरबाबा मजारस्थान, लक्ष्मीसागर र नजिकको जलेश्वरनाथ महादेव मन्दिरको संरक्षण, सम्बद्र्धनमा पहलकदमी लिन सकेमात्र आफ्नो गौरवपूर्ण विगत सन्ततिले देख्न÷बुझ्न पाउने उनले उल्लेख गरिन् ।

तराईको जीवन चुरे पर्वतसँग अभिन्नरुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । चुरेको संरक्षणविना तराईको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “चुरे संरक्षण र तराईको समृद्धि एकअर्काका पूरक हुन् ।” यसका लागि चुरेको दोहनलाई निरुत्साहित गरी नदी प्रणालीलाई व्यवस्थित गरिन आवश्यक रहेको उनले बताइन् ।

समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरेको थियो ।

सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरे । समारोहमै राष्ट्रपति भण्डारीले रंगशाला निर्माणमा अथक योगदान गर्ने मटिहानीका बासिन्दा विमलेश साह, विनोद मण्डल र नरेश महतोलाई सम्मानपत्र प्रदान गरे । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न रंगशाला उद्घाटन समारोहमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत, सांसद तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहसहितका वक्ताले राष्ट्रपतिको आगमनले आफूहरु र महोत्तरीवासीलाई ऊर्जा प्राप्त भएको बताए ।

करिब ३ करोड लागतमा एक बिघा १९ कठ्ठा क्षेत्रफलमा निर्मित रंगशालाको उद्घाटनपश्चात् राष्ट्रपति भण्डारीले मटिहानीस्थित ५०० वर्ष पुरानो लक्ष्मीनारायण मठको अवलोकन, लक्ष्मीनारायण मन्दिर र सन्त तश्मैयाबाबाको खन्तीको दर्शन र पूजाआराधना गरे । यसैगरी राष्ट्रपति भण्डारीले ३०३ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गरिन् ।

विद्यालय अवलोकनमा पुग्नुभएका राष्ट्रपतिलाई छात्रले रुद्राभिषेक पाठ गर्दै स्वस्तिवाचन गरेका थिए । सो अवसरमा प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले विद्यालयको भौतिक र शैक्षिक अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराए । मटिहानीको कार्यक्रमपछि राष्ट्रपति भण्डारीले जलेश्वरस्थित श्रीजलेश्वरनाथ महादेवको दर्शन र पूजाअर्चना गरिन् । त्यहाँ जलेश्वर नगरप्रमुख रामशंकर मिश्रसहितका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र उद्योगी व्यवसायीले राष्ट्रपतिलाई स्वागत अभिवादन गरेका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.