www.tandavnews.com
Fact ~ In search of truth

रामघाट ठेक्का विरुद्ध उत्रिए मजदुर, महानगरलाई चेतावनी

पोखरा, ताण्डव न्यूज

आफूहरुको रोजीरोटी खोसिएको भन्दै पोखराको रामघाटमा कार्यरत सेती नदी मजूदर समूहले पोखरा महानगर समक्ष ज्ञापनपत्र पेश गरेको छ ।

महानगरले रामघाट क्षेत्र वर्षौका लागि ठेक्कामा लगाएर आफूहरुको रोजीरोटी खोस्न लागेको भन्दै समूहले विहिबार महानगरका कार्यबहाक प्रमुख मन्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । सेती नदी मजूदर समूह पोखरा- ९, १० र ११ शान्तिघाटका तर्फबाट सरिता कँडेलले ज्ञापनपत्र बुझाएकी हुन् ।

Batas
पोखराको रामघाटमा कार्यरत सेती नदी मजूदर समूहले पोखरा महानगर समक्ष ज्ञापनपत्र पेश गर्दै

सुकुम्बासी बस्ती र बस्तीमा रहेका देशभरिबाट आएका हजारौं मजदुरहरुको श्रममा र पेटमा लात मारेर योजनाबद्ध विकासको नाममा प्राकृतिक सम्पदालाई निहित व्यक्ति वा कम्पनीलाई सुम्पन खोजिएको भन्दै मजदुरहरुले ज्ञापनपत्रमार्फत विरोध जनाएका छन् । सेती नदीका घाटहरु ३५ वर्षसम्म एकमुष्ठ ठेक्कामा लगाउने महानगरको योजनालाई मजदुरहरुले “भ्रष्टचार गर्ने, करोडौं कमिसन कुम्ल्याउने खेल” समेत भनेका छन् ।

“महानगरपालिकाको राजस्वमा र श्रमजिवी मजदुरहरुको रोजगारी धान्दै आएको महत्वपूर्ण घाटलाई अहिले माफिया, दलाल श्रम शोषण, भुमाफियाहरुको गिद्धे दृष्टि पर्न गएको छ, त्यसप्रति हामी आम सुकुम्बासी र आम श्रमिक मजदुरहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।” मजदुरहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पोखराको रामघाटमा कार्यरत सेती नदी मजूदर समूहले पोखरा महानगरको कार्यालयमा ज्ञापनपत्रमार्फत विरोध गर्दै

पोखरा महानगरपालिका वडा नं ९, १० र ११ मा रहेको सेती नदी पोखराको सभ्यता भएको भन्दै ज्ञापनपत्रमा रामघाट परोपकार टोल, तुलसीघाट, शान्तिवन घाटमा रहेका सुकुम्वासी मजदुरहरु झण्डै ६ सय घरधुरी र नेपालभरिबाट काम गर्न आउने दशौ हजार श्रमजिवी मजदुरहरुको जिविकोपार्जनमा असर पार्ने काम नगर्न आग्रह गरिएको छ ।

आफूहरुको मागप्रति पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरु उदासिन रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा शान्तिपूर्ण कदमलाई कमजोरी नठान्न चेतावनी समेत दिईएको छ । उक्त घाटमा हाल महानगरपालिकाले उठाउनु पर्ने राजस्व महानगपालिकाकै कर्मचारी राखेर राजस्व संकलन गरिरहेको अवस्था छ ।

“सुकुम्वासी बालुवा खानी मजूदरहरुको श्रमलाई ध्यानमा राखी प्राकृतिक सम्पदालाई जोगाई मजदुरको अधिकार सुनिश्चित गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

आफूहरुलाई कमजोर ठानेर कुनै व्यक्ति विशेष वा कम्पनीलाई वर्षौंसम्मको लागि प्राकृतिक सम्पदा अन्य कम्पनीलाइ दिएमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको मजदूरहरुको चेतावनी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.