www.tandavnews.com
Fact ~ In search of truth

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छः भट्टराई

रुपन्देही

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय समाजवादी शक्ति निर्माण गर्न सकेमात्रै देशले निकास पाउनेमा जोड दिए ।

Batas

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने भनाइ राखे ।

“सामान्य लोकतान्त्रिक मूल्य, मान्यता स्खलित हुँदैछन्, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो । यसरी देशले निकास पाउँदैन । अदालतमा देखिएको संकट यसैको उदाहरण हो”, अध्यक्ष भट्टराईले भने । पुराना राजनीतिक शक्तिले आफ्ना डम्फु बजाउँदै हावाको बाल्कोनीमा बसेको टिप्पणी गर्दै उनले पुराना राजनीतिक शक्तिले नै जनतालाई वैचारिक भ्रम छर्ने काम गरेको बताए ।

अध्यक्ष भट्टराईले महान् क्रन्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ता रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकामा जोड दिए । “कांग्रेस जतिपटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न सकिँदैन, मुलुक परिवर्तनका लागि अग्रगामी शक्ति आवश्यक छ”, उनले भने ।

पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि पार्टीले चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । जनवर्गीय संगठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाइ चिर्न र जनता जागरुक गर्न अभियान थालिएको उनको भनाइ छ । मंसिरसम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.